२९ जेठ २०८३, शुक्रबार

एमसीसीको पक्षमा बोले कमल थापा

फागुन ६, २०७६
एमसीसीको पक्षमा बोले कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा रहेको स्पष्ट पारेका छन् । 

राप्रपा ५ नम्बर प्रदेश समितिले मंगलवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले एमसीसीप्रति बाहिर आएका आंशकाले जनतामा भ्रम सिर्जना भएकाले त्यसप्रति सरकारको स्पष्ट धारणा आउन आवश्यक रहेको बताए ।  

‘एमसीसी नेपाललाई आवश्यक छ । प्रधानमन्त्रीले संसदबाट पारित हुन्छ पनि भन्नुभएको छ । सरकारपक्षीय नेताहरूले पनि एमसीसीको विरोध गर्नुभएको छ । यस्ता प्रश्न र आशंकाले जनतामा भ्रम सिर्जना भएको छ । एससीसीप्रति बुझाउने गरी सरकारले जनतासँग विचार राख्नुपर्छ,’ थापाले भने ।

अमेरिकी सहयोगबारे कसैले पनि विवाद गर्न आवश्यक नभएको उनले दाबी गरे । उनले दुईतिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे । 

‘अहिलेको सरकारप्रति जनताले ठूलो आशा थियो तर सरकारले जनतालाई सकारात्मक अनुभूति दिएन,’ उनले भने, ‘प्रधानमन्त्रीले गृहजिल्लामा गएर सरकार ढाल्ने षड्यन्त्र भएको छ भनेर बोल्नुभएको छ । त्यो भनाइले एउटा तरंग ल्याएको छ । कस्तो कहाँबाट षड्यन्त्र भएको हो ? त्यो धारणा प्रधानमन्त्रीले राख्नुपर्छ/खुलाउनुपर्छ ।’

थापाले सरकार ५ वर्ष चल्नुपर्ने बताए । ‘पछिल्लो १० वर्षमा ११ वटा सरकार बन्दा अस्थिरताले जनता वाक्क भएका छन् । देशमा स्थायित्वका लागि पनि अहिलेको सरकार ५ वर्ष चल्नुपर्छ,’ थापाले भने । 

गत चुनावमा कांग्रेससँगको सहकार्यमा इमान्दारिता नहुँदा आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपरेको उनले बताए । ‘कांग्रेससँग सहकार्य गर्ने भुल भयो । निर्वाचनमा सहकार्य गरेको कांग्रेस सहकार्यप्रति इमान्दार भएन,’ उनले भने ।

अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दूराष्ट्र र राजतन्त्रको विषयमा विगतदेखि नै स्पष्ट रहेको बताउँदै राजा र राजसंस्थालाई विवादमा तान्न नहुने बताए । आउँदो निर्वाचनमा राप्रपा तेस्रो शक्तिका रुपमा आउने दाबी उनले गरे । उनले आउँदो जेठमा हुने पार्टीको महाधिवेशन पनि निर्वाचनलाई लक्षित गरी ९ महिना अगाडि नै गर्न लागिएको जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्