
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको आरोप लागेका मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरेर निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गरिएको बार्गेनिङबारे मन्त्रीले राजीनामा गरेर मात्र नपुग्ने बताएकी हुन् ।
कांग्रेसले ७० करोडको सम्बन्धमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक फागुन १३ गतेसम्म स्थगित भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेसबारे भएको भएको बार्गेनिङ भ्रष्टाचारको प्रमाणको रुपमा लिएर निष्पक्ष छानबिन गर्न माग गरिन् । मन्त्रीको बर्खास्ती, छानबिन र प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको थियो ।