
जर्मनीमा उग्रदक्षिणपन्थी विचारधारा बोक्ने एक बन्दूकधारीले हानाउ शहरको हुक्का बारमा नौजनाको हत्या गरेपछि हजारौं मानिसले पीडितको सम्झनामा जागरण कार्यक्रम राखेका छन् ।
आरोपित ४३ वर्षीय व्यक्ति टोयिबास राथजेन हत्याकाण्डपछि आफ्नो घरमा मृत भेटिएका थिए । उनीसँगै उनकी ७२ वर्षीया आमाको शव पनि भेटिएको थियो । उनले आमाको हत्या गरे आत्महत्या गरेको मानिएको छ ।
सयौं मानिसले मैनबत्ती वा सेतो गुलाफ बोकेर हानाउमा साँझपख मौन रूपमा भेला भएर पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए ।
फ्य्रांकफर्ट र बर्लिनमा पनि ठूलो भीड जम्मा भएर ‘जातिवादलाई व्यक्तिगत रूपमा लिऔं’ र ‘फेरि यस्तो नदोहोरियोस्’ भनी प्लेकार्ड बोकेका थिए । जर्मनीका अन्य शहरमा पनि यस्तै किसिमका प्रदर्शन गरिएका थिए ।
बुधवार अबेर राति दुईवटा हुक्का बारमा मारिएका नौजनाको उमेर २१ देखि ४४ वर्ष थियो । ती सबै आप्रवासी पृष्ठभूमिका भएका र केही चाहिँ जर्मन नागरिक भएका प्रमुख संघीय अभियोजनकर्ता पिटर फ्य्रांकले बताए ।
आरोपितको वेबसाइटमा भिडियो फूटेज र एक घोषणापत्र सहितको प्रमाण फेला परेको र त्यसबाट राथजेनको दृष्टिकोण अत्यन्तै जातिभेदी किसिमको रहेको देखिएको उनले बताए ।
अनुसन्धानकर्मीहरूले आरोपितका अन्य मतियार पनि रहे नरहेको अनि उनीसँग सम्पर्क रहेकामध्ये कसैलाई आक्रमणको योजनाका बारेमा थाहा भए नभएको खोजी भइरहेको बताए ।
द गार्डियनबाट