२४ जेठ २०८३, आइतबार

जापानमा आदिवासीहरूलाई ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन नदिइने

फागुन ९, २०७६
जापानमा आदिवासीहरूलाई ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन नदिइने

जापानले आफ्ना आदिवासीहरूको अधिकारप्रति प्रतिबद्धता जनाएको भए पनि टोक्योमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिक आयोजकहरूले आइनु आदिवासी समुदायको एक प्रस्तुति रोकेका छन् । ओलम्पिकको ओपनिङ सेरेमोनीमा उनीहरूले प्रस्तुति दिने कार्यक्रम थियो । 

आइनु समुदायका मानिस जापानको सबभन्दा उत्तरमा रहेको होक्काइदो टापुका मूल निवासी हुन् र उनीहरूले आफ्नो संस्कृति ओलम्पिक स्टेडियममा देखाउन पाउने आशा गरेका थिए । तर केही दिनअघि मात्र उनीहरूलाई नाच्न नदिइने भनियो । 

बन्दोबस्तीका समस्याका कारण आदिवासीहरूको प्रस्तुतिलाई हटाइएको ओलम्पिक आयोजक कमिटीले जनाएको छ । 

सरकारी टीभी एनएचकेले अघिल्लो साता आइनु सेरेमोनियम नृत्य टोक्यो राष्ट्रिय संग्रहालयको सांस्कृतिक प्रदर्शनमा देखाइने भने पनि आइनु प्रतिनिधिहरूले त्यसभन्दा ठूलो मञ्चमा प्रस्तुति दिन पाइने आशा गरेका थिए । 

‘हामी सबैजना ओलम्पिक स्टेडियममा प्रस्तुति दिने आशा गरिरहेका थियौं,’ आइनु एसोसिएसन अफ होक्काइदोका काजुआकी काइजावाले बताए । तीन वर्षअघि नै ओलम्पिक आयोजकहरूसँग ओपनिङ सेरेमोनीमा आइनुको प्रस्तुति समावेश गरिने चर्चा गरिएको उनले बताए । 

‘हामीहरू आयोजकहरूसँग आइनु संस्कृति ओलम्पिकमा कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौं,’ काइजावाले बताए । आयोजक कमिटीले आफ्नो निर्णयको उचित व्याख्या गर्नुपर्ने उनको भनाइ छ । 

जापान सरकारले हालैका दिनमा आइनु समुदायको हैसियत सुधार्न कदम चालेकोमा यस्तो निर्णय आएको छ । गत वर्षको मे महिनामा संसद्ले एक कानून पारित गरेर आइनुलाई जापानको आदिवासी समुदायका रूपमा वैध पहिचान दिएको थियो । त्यसपछि उनीहरूको सांस्कृतिक पहिचानको संरक्षण गर्ने दायित्व सरकारमा आइपुगेको छ र उनीहरूमाथि रोजगारी, शिक्षा तथा अन्य क्षेत्रमा भेदभाव गर्न प्रतिबन्ध लगाइएको छ । 

सन् २०१७ मा गरिएको सर्वेक्षणमा होक्काइदोमा लगभग १३ हजार आइनु रहेको देखाउँछ तर वास्तविक संख्या निकै माथि रहेको विश्वास गरिएको छ । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्