२५ जेठ २०८३, सोमबार

छाडा गाईले अन्नबाली खाएपछि गौशाला निर्माण

फागुन १०, २०७६
छाडा गाईले अन्नबाली खाएपछि गौशाला निर्माण

छाडिएका गाईको संरक्षण गर्न तातोपानीधाममा  निर्माण गरिएको गौशाला  सञ्चालनमा आएको छ ।

रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा रहेको सो गौशालामा करिब ६० गाई राखिएको छ ।  नगर प्रमुख रमणबहादुर थापाले शुक्रबार शुभारम्भ गर्दै गाईलाई माताका रुपमा  पूजाआजा गरिने भएकाले संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको जानकारी दिए । 

 नगरपालिकाले दुई आर्थिकक वर्षमा रु ४० लाख  विनियोजन  गरेको थियो ।  गौशाला सम्पन्न नहुँदासम्म गत साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर संरक्षण  गरिँदै आइएको थियो  । छाडा गाईले कृषकका खेतबारीका अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण शुरू गरिएको थियो  । 

करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम अहिले भएको छ । गौशालामा छाडा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषक अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गङ्गा बस्यालले बताए। 

यसैवीच,गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा यही फागुन १२ गतेदेखि २० गतेसम्म हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । थप गौशाला निर्माण र यहाँ धर्मशाला बनाउनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

महायज्ञ अवधिभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ ।  महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी रु दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने छ । 

एक अपाङ्गमैत्री र १०० अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ । तातोपानीधाममा निर्माणाधीन अवस्थामा रहेको गौशाला परिसरमा हुने भएको महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गीतमय शैलीमा कथावाचन गर्नेछन्। महायज्ञको प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताए।
 

salt training

कमेन्ट गर्नुहोस्