
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले शुरू गरेको कार र्यालीमार्फत लुम्बिनी जान आएको आन्तरिक पर्यटकको विशेष टोलीलाई शनिवार बुटवलमा स्वागत गरिएको छ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले पर्यटन प्रवद्र्धनका लागि हिँडेको टोलीलाई बुटवल राजमार्ग चौराहामा राष्ट्रिय स्वाभिमानको प्रतिक जितगढी किल्लाको आकृति अंकित मायाको चिनो दिँदै स्वागत गरिन् ।
उपप्रमुख आचार्यले चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र भरतपुर महानगर प्रमुख रेणु दाहाल लगायतलाई बुटवलमा स्वागत गर्दै बुटवल र भरतपुरको सहकार्यबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताइन् ।
भरतपुर महानगरका प्रमुख दाहालले ‘घुमौं भरतपुर’ भन्दै शुरू गरिएको भरतपुर–लुम्बिनी कार र्याली पनि एउटा माध्यम रहेको उल्लेख गर्दै सहकार्यका साथ पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताइन् ।
प्रमुख दाहालले बुद्धावलीको बुटवल, ऐतिहासिक जितगढीको बुटवल र नारायणी सभ्यताको भरतपुरमा रहेका पर्यटन विकासका सम्भावनालाई मिलेरै साकार पार्नुपर्ने बताइन् । भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले शनिवारदेखि नै कार र्यालीको आयोजना गरेको उनको भनाइ छ । र्याली भरतपुरबाट बुटवल–सैनामैना हुँदै लुम्बिनीसम्म पुग्नेछ ।
बुटवल राजमार्ग चौराहमा आयोजित स्वागत कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य टंकप्रसाद पराजुली, बिमला श्रेष्ठ, रञ्जित शेरचन, महाशाखा प्रमुख मित्रमणि खनाल, पर्यटन व्यवसायी, निजी क्षेत्र लगायतको सहभागिता थियो ।
बुटवलले जितगढी–ऐतिहासिक नुवाकोटगढी, रामापिथेकश, सहस्रधारा, लक्ष्मीपार्क, हिलपार्क, कपरकट्टी बैठौलिया सिमसार क्षेत्रलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी क्षेत्रलाई जोड्दै बुटवलले पैदलमार्ग र चक्रपथ निर्माणको कामलाई पनि अगाडि बढाएको छ ।
नारायणी नदी किनारमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र महानगर प्रमुख रेणु दाहालले संयुक्त रुपमा र्यालीको शुभारम्भ गरेका थिए ।
१५४ वटा कार सहभागी रहेको र्यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि शनिवारै स्वागत गरेको छ । यसअघि गैंडाकोट नगरपालिकाले पनि र्यालीलाई स्वागत गरेको थियो ।
भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख ७ केन्द्र रहेका छन् ।
संघीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्य मध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ ।
पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको बताउँदै पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको बताए ।