२० असार २०८३, शनिबार

ट्रम्पलाई दंग पार्ने मोदीको त्यो भाषण र ७० लाखले स्वागत गर्ने महत्त्वाकांक्षा

फागुन १२, २०७६
ट्रम्पलाई दंग पार्ने मोदीको त्यो भाषण र ७० लाखले स्वागत गर्ने महत्त्वाकांक्षा

पोहोर साल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको ह्युस्टनमा आयोजित एक समारोहमा भाग लिने क्रममा मञ्चमा उक्लिँदा मानिसहरूले उनको नाम लिएर चिच्याए । त्यसपछि उनले ‘परिचय नै नचाहिने’ मानिसको परिचय दिन्छु भने । 

‘उनको नाम यस ग्रहका सबै मानिसले थाहा पाएका छन्,’ मोदीले भने । ‘उनको प्रत्येक शब्द लाखौं मानिसले सुन्छन् । यस देशको सर्वोच्च पदमा पुग्नुअघि नै पनि उनी अत्यन्तै लोकप्रिय थिए ।’

यसरी भूमिका बाँध्दै उनले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशंसा गेका हुन् । त्यो सुनेर ट्रम्प दंग परे । 

ट्रम्पलाई ठूला भीडका अगाडि प्रस्तुति दिन मन पर्छ । चुनाव जितेदेखि नै उनले भीडलाई सम्बोधन गर्ने काम छोडेका छैनन् । अनि मोदी पनि भीडका अगाडि सम्बोधन गर्न रुचाउने व्यक्ति हुन् । त्यसै कार्यक्रममा ट्रम्पले मोदीलाई लोकप्रिय गायक एल्भिस प्रेस्लीसँग तुलना गरे । 

अमेरिकामा अलिअलि झलक पाइसकेका ट्रम्पले मोदीको स्टार पावर सोमवार र मंगलवार झनै बढी देख्नेछन् । सोमवार उनी भारत भ्रमणका क्रममा आइसकेका छन् । आफूलाई ७० लाख मानिसले विमानस्थल र कार्यक्रमस्थलका बीचमा उभिएर स्वागत गर्ने भनी ट्रम्पले फुइँ समेत लगाए । तर त्यस शहरको जनसंख्या ५० लाख ६० हजार छ ।

अहमदाबादमा सोमवार ‘नमस्ते ट्रम्प’ कार्यक्रम राखिएको छ र आफ्नो गृहराज्य गुजरातमा मोदीले ट्रम्पभन्दा बढी नै प्रभावशाली उपस्थिति जनाउने पक्का छ । 

वाशिङटन र नयाँ दिल्लीबीच व्यापारका विषयमा मतभेद छ । तर मोदीले ट्रम्पलाई जनतामाझ कसरी लोकप्रिय हुने भनी बाटो देखाएका छन् । उनले आफ्नो पार्टी र आफ्नो आधारभूमिलाई आफूवरिपरि घुमाउनुका साथै देशका बहुसंख्यक जनतालाई आफ्नो पक्षमा पारेका छन् । उनका विरुद्ध कुनै सशक्त प्रतिपक्ष छैन यद्यपि मानवअधिकार उल्लंघन र असंवैधानिक कदम चालेको भन्दै उदारवादीहरूले यदाकदा विरोध गर्ने गरेका छन् । 

यसको विपरीत, ट्रम्पले चाहिँ भर्खरै मात्र महाअभियोगको छलफल सामना गरेका हुन् यद्यपि उनी पद जोगाउन सफल भए । अनि उनले आगामी नोभेम्बर महिनामा कडा प्रतिस्पर्धा हुने निर्वाचनको सामना गर्नुपर्ने भएको छ । 

आफू निर्वाचित भएदेखि नै ट्रम्पले बलिया शासकहरूप्रति सम्मान दर्शाउने गरेका छन् । उनले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनलाई प्रशंसा गर्ने गरेका छन् । 
यसले उनका आलोचकहरूलाई चिन्तित तुल्याएको छ र उनीहरू ट्रम्पमा सर्वसत्तावादी सोच रहेको र आफूप्रति विमति राख्नेलाई उनले घृणा गर्ने गरेको बताउँछन् ।

भारत हुन त अमेरिकाभन्दा ऐतिहासिक र प्रणालीगत रूपमा नितान्त भिन्न मुलुक हो तर मोदीका रूपमा ट्रम्पले लोकतान्त्रिक निरंकुशताको उदाहरण पाएका छन् । देशलाई मुट्ठीमा लिन र विपक्षीलाई ध्वस्त पार्न निरंकुश शासन नै आवश्यक छैन भन्ने कुरा मोदीले प्रमाणित गरेका छन् । 

ट्रम्प र मोदीबीच अनेकौं समानता भेटिन्छन् । दुवैजना रूढिवादी राष्ट्रवादी नेता हुन् र दुवैले मुसलमान र आप्रवासीहरूविरुद्ध विषवमन गर्ने गरेका छन् । अनि मिडियाले गर्ने आलोचनालाई दुवैले मन पराउँदैनन् । 

यी दुवैले आफ्नो व्यक्तिपूजालाई प्रोत्साहन गर्ने गर्छन् र उनीहरूको लोकप्रियता आफ्नै दलभन्दा पनि बढी छ । 

ट्रम्प रिपब्लिकनहरूमाझ अत्यन्तै लोकप्रिय छन् र सन् २०२० मा उनी पुनः निर्वाचित हुन सक्छन् । तर उनले हाउस स्पीकर न्यान्सी पेलोसीको कठोर विरोधको सामना गर्नुपरेको छ र कतिपय अवस्थामा उनलाई न्यायपालिकाले पनि रोकेको छ । मोदीलाई यस्ता समस्याको सामना गर्नुपरेको छैन । 

ट्रम्पभन्दा भिन्न मोदीलाई कसैले हल्लाउन नसकेको देखिन्छ । 

केही महिनाअघि भारतको सर्वोच्च अदालतले हिन्दूवादीहरूलाई विजयी बनाउँदै अयोध्याको विवादित भूमिमा राम मन्दिर बनाउने बाटो खोल्यो । अदालतले विवादास्पद नागरिकता संशाधन विधेयकलाई रोक्न समेत अस्वीकार गर्‍यो । विधेयक पारित भएर ऐन बनिसकेको छ र यसको प्रखर विरोध भइरहेको छ । विरोधीहरूले यस ऐनबाट मुसलमानहरू थप सीमान्तीकृत हुने र लाखौं मानिस राज्यविहीन बन्ने चेतावनी दिएका छन् । 

यी दुवै विजयले मोदी र उनको दल भारतीय जनता पार्टीको हिन्दूत्व नीतिलाई थप अगाडि बढाउन मद्दत गर्छन् र धर्मनिरपेक्ष देशलाई हिन्दूराष्ट्र बनाउने बाटो खोल्न सक्छन् । 

नागरिकता विधेयकका विरुद्ध विरोध प्रदर्शन भइरहेका छन् अनि मोदीले कश्मीरको विशेषाधिकार खोसेको कामले अन्तर्राष्ट्रिय रूपमा भर्त्सना खेपिरहेको छ तर यी सबैले शक्तिमाथि उनको पकडलाई हल्लाउन सकेको छैन । 

बरू विमति राख्नेहरूले भारी मूल्य चुकाउनुपरेको छ । विरोधकर्ताहरूमाथि भीडले आक्रमण गरेको खबर आउने गरेको छ । उनीहरूलाई राष्ट्रविरोधी संज्ञा दिँदै ज्यान मार्ने धम्की दिने र दुर्व्यवहार गर्ने गरिएको छ । मोदीको योजनामा सम्मति नजनाउने मिडियालाई ‘सेल्फ सेन्सर गर्न वा सरकारको कदम अनुकूल हुनका लागि दबाब’ रहेको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ । 

‘मलाई भारतको पहिलेको स्थितिको याद आउँछ, त्यतिखेर देश विभाजित मनस्थितिमा थियो,’ पोहोर साल मोदीलाई भेटेपछि ट्रम्पले भनेका थिए । ‘अनेकौं विमतिहरू थिए अनि संघर्षहरू हुने गर्थे । पछि उनले सबैलाई एकै ठाउँमा ल्याए, जसरी पिताले आफ्ना सन्तानलाई एकजुट बनाउँछन् । शायद उनी भारतका पिता हुन् ।’

मोदीको लोकप्रियता अनि मिडिया तथा हिन्दूहरूमाझ उनको विशाल समर्थनले आमनिर्वाचनमा उनलाई प्रचण्ड विजय दिलाएको थियो । उनले भाजपालाई थप सीट जिताउन र विपक्षी दल कांग्रेसलाई ध्वस्त पार्न सफल सके । 

तर अब केही महिनापछि हुन लागेको राष्ट्रपति निर्वाचनमा हुने कडा प्रतिस्पर्धा र विपक्षी डेमोक्रेटिक पार्टीले उनलाई हटाउनका लागि लिएको दृढ संकल्पका कारण ट्रम्पलाई मोदीको सफलतासँग तुलना गर्न अलि गाह्रै देखिन्छ ।

सीएनएनमा प्रकाशित जेम्स ग्रिफिथ्सको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्