संसारमा सबभन्दा खराब वायु प्रदूषण भएका मुलुकको सूची आईक्यूएयर नामक संस्थाले सार्वजनिक गरेको छ । सूचीमा नेपाल आठौं स्थानमा छ ।
देशहरूको सूचीका साथै वायु प्रदूषण भएका शहरहरूको सूची पनि उक्त संस्थाले जारी गरेको छ । उक्त संस्थाको ताजा सूचीमा काठमाडौं पाँचौं स्थानमा छ ।
उक्त सूचीमा छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ भने चीन १२ औं स्थानमा छ ।
विश्वका सबभन्दा बढी प्रदूषित ३० शहरमध्ये २१ व्टा भारतमै रहेको र शीर्ष १० मध्ये ६ शहर त्यहीँ रहेको आईक्यूएयर एयरभिजुअसको २०१९ को वर्ल्ड एयर क्वालिटी रिपोर्टको आँकडामा देखिएको छ ।
दिल्ली सबभन्दा प्रदूषित शहर हो भने ढाका दोस्रो र लाहोर तेस्रो स्थानमा छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स २४३ छ जुन स्वास्थ्यको स्तरभन्दा निकै धेरै हो ।
आईक्यूएयरका अनुसन्धाताहरूले मोनिटरिङ स्टेसनहरूबाट प्राप्त रिपोर्टका आधारमा आँकडा तयार पारेका हुन् । त्यसमा हावामा सूक्ष्म तत्त्व अर्थात् पार्टिकुलेट म्याटर (पीएम) को स्तर हेर्ने गरिन्छ ।
२.५ माइक्रोमिटरभन्दा साना माइक्रोस्कोपिक पार्टिकलहरू निकै हानिकारक मानिन्छन् किनकि ती साना भएकाले फोक्सो र कार्डियोभास्कुल प्रणालीमा गहिरो गरी पस्छन् ।
पीएम २.५ मा सल्फेट, नाइट्रेट र कालो कार्बन जस्ता प्रदूषक पाइन्छन् । यस्ता पार्टिकलले फोक्सो र मुटुको रोग ल्याउने र सोचविचार क्षमता तथा रोगप्रतिरोधक क्षमतालाई क्षतिग्रस्त गराउन सक्छन् ।