
गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
अस्पतालको मंगलवार निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताए ।
अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए। ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो ।
देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताए। उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे।
सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए ।
तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो ।
मन्त्री थापाले मंगलवार नै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।