
बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवं पर्यटन महोत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समितिले घरेलु उद्यमलाई प्रवद्र्धनका लािग मेला गर्न लागेको हो ।
समितिका संयोजक शान्ति शर्माले मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तुको विशेष प्रदर्शनी गरिने बताइन् ।
मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगबाट उत्पादिन वस्तु एवं सामग्रीको प्रदर्शनी गरिनेछ भने प्रदेश ५ का मौलिक संस्कृतिको समेत प्रदर्शनी गरिने छ । बुटवल उपहानगरपालिका–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको मैदानमा मेला लाग्नेछ ।
मेलामा कृषि उत्पादन एवं प्रविधिका प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री र वस्तुको प्रदर्शनी, नविनतम वैकल्पिक ऊर्जाको प्रदर्शनी, बैंक तथा वित्तीय संघसंस्था एवं सेवा प्रदायक संघ संस्थाको प्रदर्शनी मेलामा राखिने छ ।
मेलामा विभिन्न औद्योगिक व्यापारिक प्रतिष्ठानबाट उत्पादित वस्तु तथा सामग्रीको समेत प्रदर्शनी गर्न लागिएको छ । मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
प्रदेशका १२ वटा जिल्ला मध्येबाट प्रत्येक जिल्लाबाट ५/५ वटा महिला उद्यमीलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ । महिला उद्यमी समूहको आयोजानमा पहिलो पटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको छ ।