भारतको राजधानी दिल्लीमा दुई समूहबीच भएको झडपमा मृत्यु हुनेको संख्या सात पुगेको छ । १५० जना घाइते भएका छन् ।
नागरिकता संशोधन कानूनको विरोधमा दुई महिनादेखि चलिरहेको विरोध प्रदर्शनमा अहिले आएर दंगा र हिंसा भएको हो ।
‘दिल्ली प्रहरीका एक हेड कन्स्टेबल सहित सातजनाको मृत्यु भएको छ,’ प्रहरी अधिकारी अनिल मित्तलले बताए ।
नयाँ कानूनको समर्थन र विरोधमा हजारौं मानिसले दिल्लीको उत्तरपूर्वी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले अश्रूग्यास र धूवाँ फाल्ने ग्रिनेड प्रहार गरे पनि ढुंगा हान्ने भीडलाई तितरबितर पार्न सकेन । भीडले धातुबाट बनेका ब्यारिकेडलाई ध्वस्त पारेको छ र एक पेट्रोल पम्पमा आगजनी गरेको छ ।
शहरका विभिन्न भागमा मंगलवार पनि तनावको स्थिति छ । केही क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् । शहरका पाँचवटा मेट्रो स्टेसन बन्द छन् ।