
टुँडिखेलमा भएको संस्कृति ज्ञान परीक्षामा काठमाडौँ उपत्यकाका २ सय २९ विद्यालयबाट ६ हजार ५ सय ७८ विद्यार्थी सहभागी भएका छन्।
प्रतियोगितात्मक परीक्षामा सहभागीमध्येबाट १ सय ३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएको हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ।
तीमध्येबाट गोलाप्रथाद्वारा मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।
शतप्रतिशत मिलाउन सफल ५० अन्य विद्यार्थीलाई प्रोत्साहन पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ।
आयोजकका अनुसार प्रथमले ५१ हजार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार पाउँदा ५० जनालाई प्रोत्साहन स्वरूप जनही ए-–एक हजार रुपैया र प्रमाण पत्र प्रदान गरिएको छ।
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा भएको परीक्षामा विद्यार्थीले ५० वटा बहुवैकल्पिक उत्तर भएका प्रश्नको उत्तर छनोट गर्नुपर्ने थियो। प्रश्न संघले नै तयार पारेको प्रश्नोत्तरी पुस्तकबाट सोधिएको थियो।
सहभागिताका लागि १ सय रुपैयाँमा विद्यार्थीले आफ्नो नाम दर्ता गराएका थिए। दर्ता भएका विद्यार्थीलाई प्रश्नोत्तर सहितको पुस्तक अध्ययनका लागि उपलब्ध गराइएको थियो। पुस्तकमा भएको ५ सय ३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएका थिए।

हिन्दू स्वयंसेवक संघ नेपालका संयोजक महाश्रम शर्माले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिनुपर्ने औचित्यलाई कार्यक्रमले सम्बोधन गर्ने बताए।
सर्वोच्च न्यायालयका पूर्वरजिस्ट्रार डा रामकृष्ण तिमिल्सिनाले नेपालका बौद्धिक जनशक्तिले विश्वलाई नेतृत्व प्रदान गर्नसक्ने हुनुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि डा जयराज आचार्यले नेपाललाई पुरानो जगमा नयाँपन दिने कार्य नयाँ पुस्ताको काँधमा आएको बताए।्
संघका राष्ट्रिय सहसंघचालक कल्याण कुमार तिम्सिनाले हिन्दू स्वयंसेवक संघ नेपालको गतिविधिहरूबारे जानकारी दिए।
