
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताए।
हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने उल्लेख गर्दै सभापति देउवाले कांग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए। उनले पार्टीमा रहेका केही समस्याको समाधान पार्टी भित्रैबाट खोजिने बताए। कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको जिकिर गरे।
कांग्रेस नेता प्रकाशमान सिंहले सरकारका क्रियाकलापबाट जनता आजित भएको टिप्पणी गरे। कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भनेर पनि स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको उनले बताए।
नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधानलाई मुलुक समृद्ध बनाउनभन्दा आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए।