
प्रहरीले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने २ चालकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई शनिबार उपत्यकाका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा २ ख ४४६० नम्बरको टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा १ ख २७६८ नम्बरको माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
मापसे गरी टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पु-याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताए। गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ।