विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त सचेतना नअपनाएको प्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले कोरोनाको जोखिमबाट नेपाललाई बचाउन पर्याप्त तयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कोरोनाप्रभावित क्षेत्रबाट नेपाली र विदेशी बेरोकतोक नेपाल भित्रिरहेपनि उनीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा नराखिनु गलत भएको बताए ।
‘नेपाल पनि जोखिमपूर्ण छ भन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी र यथार्थप्रति सरकार कति सचेत छ ? आश्वस्त हुनेगरी संसद्मा जानकारी गराउन आवश्यक छ,’ बडूले भने ।
कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले एक महिनाको अवधिमा १ लाख ७६ हजार २ सय ७२ जना नेपाल भित्रिएको तथ्याङ्क पेश गर्दै उनीहरूलाई थर्मल स्क्यानिङको भरमा नेपाल भित्रिन दिनु पर्याप्त नभएको बताए ।
‘यसरी असावधानी गरेमा, आइसोलेसनमा राख्न नसकेमा खतरा अझ बढ्छ,’ उनले भने ।
बडूले चीनको भ्रमण गरेर फर्केका मंगोलियाका राष्ट्रपतिलाई आइसोलेसनमा राखिएको उदाहरण संसद्मा दिए ।
प्रतिनिधि सभाको विशेष समयमा देवेन्द्र पौडेलले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अझ उच्च प्रकारको सतर्कता अपनाउनु जरुरी रहेको बताए ।
‘कोरोना भाइरसको निकै कहालीलाग्दो र भयावह वातावरणको अनुभूति गरिरहेका छौं, नेपाल सरकारले सक्रियतापूर्वक भूमिका निर्वाह गर्यो अझ उच्च सतर्कता अपनाउनु जरुरी छ,’ उनले भने ।
नेकपाका सांसद कृष्णभक्त पोखरेलले विश्व स्वास्थ्य संगठनले नेपाल पनि अत्यन्तै जोखिमको सूचीमा रहेको बताएकाले चेकजाँचको व्यवस्था र जनचेतना अभियान सञ्चालनलगायत सबै उपाय अपनाउन सरकोको ध्यानाकर्षण गराए ।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले यसबाट जोगिने उपाय अपनाउन जरुरी रहेको बताइन् ।