
उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन्।
कोरोना भाइरसको त्रास बढ्दै गएपछि उनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्नुका साथै थप कार्यक्रममा भाग नलिने भएका हुन्। उपराष्ट्रपतिले उक्त निर्णय अनुसार गर्न निजी सचिवालयलाई निर्देशन दिइसकेका छन्।
‘उपराष्ट्रपतिको निर्देशन र कोभिड-१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै उहाँको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको छ,’ उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सृजना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उपराष्ट्रपति पुन अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने जनाइएको छ।
साथै, उपराष्ट्रपति पुनले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रण सम्बन्धी सरकारको योजनामा सघाउन अपील गर्दै नआत्तेर सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।