
गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्ति नै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् ।
नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बुधवार उनले विगतमा वास्तविक व्यक्ति राज्यबाट सम्मान हुन नपाउँदा कयौं उपाधि र विभूषण बहिष्कार वा अस्वीकार गर्ने घटना देखिएका औंल्याए ।
‘मुलुकमा योगदान पुर्याउने सच्चा व्यक्ति राज्यबाट सम्मान हुनुपर्छ भनी विधेयक अघि बढाएका हौं, विभूषणसम्बन्धी ऐन सच्चाउने र परिमार्जन गर्नुपर्ने भएकाले विधेयक आएको हो, उपाधि वा विभूषणको उचित सम्मान होस् भन्ने हामी चाहान्छौं,’ उनले भने ।
राज्यमा ३ तहको सरकार रहेकाले समाजमा योगदान गर्ने व्यक्तिप्रति उपाधि र सम्मान झन् बढ्दै जाने थापाले बताए ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने नेपाली वा विदेशी व्यक्तिका अलावा यस्ता क्षेत्रमा काम गर्ने संस्था र संगठनलाई पनि सम्मान र उपाधि प्रधान गर्नु जरुरी रहेको उनले जानकारी गराए । उनले भने, ‘राज्यले प्रधान गर्ने उपाधि र विभूषणलाई वृद्धि विकासको आधार कसैले पनि बनाउनु हुँदैन, विगतमा भएको पदअनुसार विभूषण वा पदक दिने तरिका हालको विधेयकमा सच्चाइएको छ,’ उनले भने ।
विभूषणलाई तिरस्कार गर्ने व्यक्तिलाई कानूनले के गर्ने भन्ने कुरा कानूनमा उल्लेख हुन जरुरी रहेको गृहमन्त्री थापाको भनाइ थियो । विभूषणको मूल्य लिएर धातु फिर्ता लिने परम्परा विधेयकबाट हटाउनुपर्ने उनको भनाइ थियो ।
गृहसचिव महेश्वर न्यौपानेले विदेशी व्यक्तिका हकमा सम्मान थप गर्न आग्रह गरे । मन्त्रालयका पूर्व गृहसचिव प्रेमकुमार राईले राज्यबाट समय समयमा पदक पाउने तर बढुवा हुन नपाएका व्यक्तिका हकमा कानूनले के गर्छ भनी प्रश्न गरे ।