
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनःनियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताएका छन्।
पुनःनियुक्तिपछि अर्थ मन्त्रालयमा बुधबार उनले पदबहालीका क्रममा आफू मुलुकको गरिबी, अभाव, अशिक्षा, असमानाता र अन्यायविरुद्ध लडिरहेको बताउँदै ती समस्या हल नहुञ्जेलसम्म र नेतृत्वले फर्की नभनेसम्म लडिरहने धारणा व्यक्त गरे।
‘मेरो लडाई र समय त्यो बेलासम्म हो । त्यो हाम्रो साझा लडाई हो । यसका लागि सबैको साझा प्रयास आवश्यक छ,’ मन्त्री डा खतिवडाले भने।
मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा रहेको र आर्थिक परिसूचक सकारात्मक भए पनि केही वाह्य चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ। बितेका दुई वर्षमा मुलुकको आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र हुँदै गएको, आयातमा आधारित राजश्व प्रणाली आन्तरिक उत्पादनमा र आम्दानीमा आधारित राजश्व प्रणालीमा रुपमा विकास हुँदै गएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए।
उनले संविधानले दिएको अधिकारअन्तर्गत तिनै तहका खर्च विनियोजन, लेखाङ्कन प्रणालीलगायत एकीकृत विवरण बनाउने चुनौती रहेको उल्लेख गरे। निजी क्षेत्रका लागि अझ सहज लगानीको वातावरण बनाउन र सहकार्य गर्न धेरै कानून बनेको र केही कानून बनाउनुपर्ने बताउँदै मन्त्री डा खतिवडाले व्यावसायिक वातावरण सुधारको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए।