
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताएका छन्।
नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन्। 'बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा काँग्रेस एकजुट हुन जरुरी छ,' उनले भने। संसदमा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको उनको भनाइ थियो।
सभापति देउवाले पार्टीभित्रको झगडाका कारण काँग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे। उनले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताए। 'सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न काँग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ,' उनले भने।
वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली काँग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताए। पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गरे। कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।