२४ जेठ २०८३, आइतबार

भेला नहुन, हात नमिलाउन प्रदेश सरकारको अनुरोध

फागुन २२, २०७६
भेला नहुन, हात नमिलाउन प्रदेश सरकारको अनुरोध
फाइल फोटो

वाग्मती प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलालाई धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको हो ।

बैठकले मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीलाई पनि धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले यसबाहेक कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हात नमिलाउन तथा नमस्कार गर्न प्रदेशवासीलाई अनुरोध गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको मुलुकको रूपमा जनाएपछि प्रदेश सरकारले यसका लागि प्रदेश मातहतका सबै अस्पतालमा छुट्टै उपचारकक्ष निर्माण गरिसकेको समेत जनाएको छ । प्रदेश सरकारले धेरै व्यक्ति भेला भएर गरिने कार्यक्रम नगर्नसमेत अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारका लागि आवश्यक पर्ने विभिन्न संरचना निर्माण गर्नका लागि हेटौँडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

यसैगरी प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत दिने, चालू आर्थिक वर्षका लागि प्रदेश विषेश अनुदानतर्फका थप योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले यसअघि साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गर्नेसम्बन्धी निर्णय खारेज गर्ने निर्णय गरेको छ ।

साझा यातायात सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकाले सहमति खारेज गरिएको मन्त्री ढुंगेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्