
स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डरसमेत रद्द भएको छ । एन ९५ मास्क खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए । विगतमै किनेको दरमा प्रतिगोटा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरूले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले बताए ।
‘विगतका वर्षमा झैँ प्रतिगोटा तीन सयको दररेट राखेर टेन्डर आह्वान भएको थियो,’ डोटेलले भने, ‘तर, कम्पनीहरूले चार सय ५० को दरले प्रस्ताव हालेपछि टेन्डर रद्द भएको छ । अब स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दर बढाएर मास्कलगायत अन्य अत्यावश्यक उपकरणको पुनः टेन्डर खुलाउने तयारी छ ।’
स्वास्थ्यसचिव यादव कोइरालाले भने अहिल्यै कोरोनाबाट आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्रै यसले बढी असर गरेको छ । व्यक्ति स्वयं सुरक्षित भए भाइरसबाट जोगिन सकिन्छ,’ उनले भने, ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।’ कोइरालाले निजी अस्पतालहरू नर्भिक, नेपाल मेडिसिटी, ग्रान्डी, वयोधालगायतलाई पाँचदेखि सातवटासम्म भेन्टिलेटरसहितको आइसोलेसन वार्ड छुट्याउन निर्देशन दिएका छन् ।
यसैबीच, कोरोना भाइरस नियन्त्रणको पूर्वतयारीअन्तर्गत १५ सय फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को व्यवस्था गर्न सरकारलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) भनेको छ । डब्लुएचओले शरीर ढाक्ने सुरक्षित लुगा, विशेष चस्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जालगायतको सूची नै बनाएर सरकारलाई बुझाएको छ ।
तर, स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाले बजेट नभएको भन्दै खरिद गर्न सकेको छैन । एक व्यक्तिबाट अर्कोमा संक्रमण फैलिन नदिन विशेष सुरक्षा साधन प्रयोग गर्नुपर्छ । ‘डब्लुएचओले भनेअनुसार तत्काल पिपिई जुटाउन सक्ने अवस्था छैन,’ महाशाखा प्रमुख भोगेन्द्र डोटेलले भने, ‘सात सय पिस किन्न मात्रै पनि २८ करोड बजेट लाग्ने देखियो । यति रकम पनि स्वास्थ्य मन्त्रालयसँग छैन ।’ मन्त्रालयले तत्काल विभिन्न निकायसँग मागेर चलाउँदै आएको छ । डोटेलका अनुसार आगामी एक महिनाका लागि मात्रै सरकारलाई पाँच सय ५० पिपिई चाहिएको छ, तर १५ दिनका लागि मात्रै पुग्नेछ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४५ लाख लगेको आठ महिनासम्म किनेन भेन्टिलेटर
डेंगुको महामारीका वेला गत जेठमा प्रदेश १ सरकारले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेन्टिलेटर किन्न ४५ लाख दिएको थियो । तर, प्रतिष्ठानले अहिलेसम्म भेन्टिलेटर किनेको छैन । प्रतिष्ठानले टेन्डर नै नगरेको मन्त्रालयको भनाइ छ ।
‘महामारीजन्य रोग नियन्त्रणका लागि भेन्टिलेटर किन्न दिएको रकम सदुपयोग भएको देखिएन,’ स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले भने, ‘भेन्टिलेटर किनेको भए अहिले कोरोना महामारी फैलिएका वेला पनि काम लाग्थ्यो ।’
मन्त्रालयले नाकाहरूमा भइरहेको कोरोना नियन्त्रणसम्बन्धी काम पनि सन्तोषजनक नभएको बताए । भर्खरै प्रदेश १ अन्तर्गतका नाका अनुगमन गरेका डोटेलले नाकाको अवस्था दयनीय रहेको बताए । ‘त्यहाँ खटिएका स्वास्थ्यकर्मीले नेपाल भित्रिनेहरूको रगत जाँच मात्रै गरिरहेका छन्,’ डोटेलले भने ।
अत्यावश्यक औषधि नरोक्न भारतसँग माग
सरकारले अत्यावश्यक औषधिको निर्यात नरोक्न भारतसमक्ष माग गरेको छ । बिहीबार सिंहदरबारमा बसेको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमण बढ्दै गएकाले अत्यावश्यक औषधि निर्यात अवरुद्ध नगर्न आग्रह गरेको हो ।
समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले अत्यावश्यक औषधिको माग गरे भारतले निर्यात गर्ने बताए । भारत नेपालमा औषधि निर्यात गर्न सकारात्मक देखिएकाले औषधि अभाव नहुने उनको दाबी छ ।
समितिको बैठकमा गृह मन्त्रालयका अधिकारीले १८ माघदेखि ११ फागुनसम्म दुई हजार ६ सय ९५ चिनियाँ नेपाल प्रवेश गरेको तथ्यांक पेस गरेका थिए । तर, त्यसयताको तथ्यांक भने सार्वजनिक गरेनन् । कोरोना भाइरसको प्रकोप देखिएका मुलुकमा नेपाली विद्यार्थी जाने क्रम भने अझै जारी रहेको रिपोर्ट पेस गरिएको छ ।
कोरोनाको आशंका भएका व्यक्ति अस्पतालबाटै भागे
कोरोना संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका एक व्यक्ति आइसोलेसन वार्डबाटै भागेका छन् । दक्षिण कोरियाबाट नेपाल आएका सुनसरीका ती व्यक्ति बिहीबार बिहान अस्पतालबाट भागेका हुन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले ती व्यक्तिमा कोरोना संक्रमण नभई, कोरोनाफोबिया भएको बताए । उनी दक्षिण कोरियाबाट अस्थिर मनस्थितिमा नेपाल आएको परिवारका सदस्यलाई उद्धृत गर्दै टेकुका चिकित्सकले बताए ।
बिहान भागेका उनी बिहीबार साँझ नै विराटनगरमा भेटिएका छन् । अस्पतालले परिवारसँग सम्पर्क गरिसकेको छ । उनलाई बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगी आइसोलेसन गर्न भनिएको छ ।
भिडभाडका कार्यक्रम नगर्न शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयले अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह नगर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । पिकनिक र शैक्षिक भ्रमण पनि रोक्न भनेको छ । कोरोना शंकास्पद विद्यार्थी भेटिए तत्काल अन्य विद्यार्थीबाट अलग्गै राख्न, अभिभावकलाई सुरक्षित जिम्मा लगाउन, स्वास्थ्यचौकी वा अस्पताल लगेर उपचार गराउन भनेको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार विद्यालय सञ्चालकका छाता संगठन, अभिभावक तथा विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी जुनसुकै निर्णय गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले स्वास्थ्य मन्त्रालय र कोरोना भाइरस नियन्त्रणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको समितिले देशमा कुनै संकट छ भनेर पत्राचार गरे जस्तोसुकै अवस्थामा पनि शैक्षिक संस्था बन्द गरेर घरभित्रै बस्नुपर्ने अवस्थाका लागि तयार रहन निर्देशन दिएका हुन् ।
‘संकट आइहाले कसरी व्यवस्थापन गर्ने भन्ने तयारीसहित आफ्ना गतिविधि गर्न विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी, विश्वविद्यालयका उपकुलपतिलाई पनि मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ स्वास्थ्यमन्त्रीका स्वकीय सचिव पूरण केसीले भने । दिउँसो भएको छलफलमा एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले कोरोनाको त्रासमा रहनुभन्दा विद्यालय बन्द गर्नु नै उपयुक्त हुने बताए । ‘बालबालिकाको मनस्थिति नै फरक भएको छ । यो अवस्थामा विद्यालय नै बन्द गर्न सकिन्छ,’ सापकोटाले भने, ‘परीक्षा धेरै ठूलो विषय होइन । सहज स्थिति भएपछि परीक्षा लिन सकिन्छ ।’ विद्यालयसँगै उनीहरू जान सक्ने फिल्म हल, थिएटरलगायत मनोरञ्जनका क्षेत्र पनि बन्द गर्नुपर्ने उनको सुझाब छ ।
डिस्कोमा कोरोनाको जोखिम
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको जोखिम भएकाले अनावश्यक भिडभाड नगर्न र भिडमा उपस्थित नहुन आग्रह गरेको छ । तर, कोरोना संक्रमणको उच्च जोखिम हुने डिस्को, डान्सबारजस्ता क्षेत्रमा भने चासो दिएको छैन ।
डिस्कोहरूमा विदेशी पर्यटकसमेत जाने भएकाले संक्रमित व्यक्ति पुग्दा कोरोना फैलिने उच्च जोखिम हुन्छ । ठमेल, दरबारमार्ग क्षेत्रका डिस्को तथा लाउन्स बारहरूमा विदेशीको समेत भिड लाग्छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले डिस्को तथा डान्सबारहरूले पनि सावधानी अपनाउनुपर्ने बताए । ‘हामी अहिले नै बन्द गर भन्न सक्दैनौँ,’ उनले भने, ‘तर, सतर्कता अपनाउनु जरुरी छ ।’ डिस्कोले ग्राहकलाई प्रवेश दिनुअघि ज्वरो नाप्नुपर्ने उनको भनाइ छ ।
पाँच देश ट्रान्जिट भएर आउने विदेशीले ‘हेल्थ सर्टिफिकेट’ देखाउनुपर्ने
चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली र इरानका नागरिक तथा ती देश भएर आउने विदेशीलाई आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट पेस गरे मात्र नेपाल आउन दिइने निर्णय नयाँ पत्रिकामा खबर छ ।