अहिले संसारभरि कोरोनाभाइरसको आतंक छ । भाइरस ८५ वटा देशमा पुगिसकेको छ । तर यसलाई जित्नेहरूको संख्या बढी छ ।
चीनमा १०१ वर्षका एक वृद्ध जन्मदिन मनाउनेबित्तिकै अस्पतालमा भर्ना भएका थिए । दाई थर भएका ती वृद्ध वुहानस्थित अपर्झट बनाइएको अस्पताल (वुहान थर्ड हस्पिटल) मा उपचार गराएर घर फर्किसकेका छन् ।
त्यसअघि ९८ वर्षीया एक वृद्धा हु हानयिङ कोरोनालाई जित्ने सबभन्दा ज्येष्ठ नागरिक थिइन् ।
वार्ड मेट्रन ली लाईले दाई अस्पतालबाट छुट्टी लिँदा एकदमै उत्साहित भएको बताए ।
ती वृद्धले टेक्ने लट्ठी लिएको र सुरक्षा परिधान लगाएर चिकित्सकहरूसँग कुरा गरेको तस्वीर सार्वजनिक भएको छ ।
घरमा ९२ वर्षीया पत्नी एक्लै भएकोमा चिन्ता लागेको दाईले बताए ।
पत्नीकै लागि भए पनि आफू छिटो ठीक हुन चाहेको उनले बताए ।
वुहान थर्ड अस्पतालबाट डिस्चार्ज भए पनि वृद्धलाई चिकित्सकहरूले १५ दिनसम्म क्वारेन्टाइनमा बस्न भनेका छन् ।