
सिरियाको उत्तरपश्चिममा रहेको इदलिब प्रान्तमा रुस र टर्कीले युद्धविराम गरेका छन् ।
मस्कोमा बिहीवार युद्धविराम सम्झौतामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि उक्त क्षेत्रमा तुलनात्मक शान्ति छाएको सरियन अब्जर्भेटरी फर ह्युमन राइट्स नामक निगरानी संस्थाले जनाएको छ ।
टर्कीको समर्थन पाएका सिरियाली विद्रोही र रुसको समर्थनप्राप्त सिरियाली बलहरूबीच हप्तौंसम्म चलेको संघर्षपछि सम्झौता भएको हो ।
सिरिया सरकारले इदलिबमा आक्रमण गर्दा लगभग ६० जना टर्किश सैनिकहरू मारिएका थिए । इदलिब सरकारविरोधी दलहरूको कब्जामा रहेको अन्तिम क्षेत्र हो ।
टर्कीले २१ जना सिरियाली सैनिकको हत्या गरेको र विभिन्न हतियार नष्ट गरेको जनाएको थियो ।
युद्धका कारण उक्त प्रान्तमा मानवीय संकट आएको छ । अनि रुस र टर्कीबीच सीधै सैन्य भिडन्तको पनि स्थिति आएको थियो ।
रुसको राजधानी मस्कोमा पुटिन र अर्दोआनबीच ६ घन्टासम्म चलेको वार्तापछि सम्झौता भएको हो ।
बीबीसीबाट