नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको कामको अनुमगन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव समेत उनको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा कोरोनाविरुद्ध राष्ट्रिय संकल्प साथ अगाडि बढ्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद थापाले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि भविष्यका लागि सतर्कता अपनाउनुपर्ने बताएका हुन् ।
‘कोरोना संक्रमणको बारेमा फरक–फरक कुरा आएको छ । सरकारले सभा सम्मेलन नगर्ने कुरा गरेको छ, स्कूल बन्द गर्ने प्रस्ताव पनि संसद्मा उठेको छ । नागरिकलाई सूचित गर्ने एउटै फोरम होस्, नागरिकहरू सचेत भन्दापनि त्रसित भइरहेका छन्,’ थापाले भने, ‘सरकारले एउटै प्लेटफर्ममार्फत मात्र बोल्नुपर्यो । स्वास्थ्य मन्त्रालयले मात्र बोल्ने र सबै सञ्चार माध्यमले त्यसैलाई फलो गर्नुपर्यो ।’
कोरोनाप्रभावित मुलुकबाट १ हजार ३ सय ७८ जानले नेपाल प्रवेश गरेका भएपनि उनीहरू कहाँ छन् भन्ने ट्र्याकिङ सरकारसँग नहुँदा जोखिम पहिचान गर्न नसकिएको उनको भनाइ छ ।
‘कुन देशबाट आउने नागरिकलाई पूर्ण रोक्ने हो, कुन देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने हो र कुन देशबाट आएकालाई ट्र्याकिङमा राख्ने हो यो निर्णय गरौं,’ उनले भने, ‘नेपालबाट बिदेसिनेको पनि एउटै मापदण्ड बनाऔं । श्रम मन्त्रालयले एउटा कुरा गरेको छ, सांसदहरू जापान गइरहनुभएको छ, यसो नगरौं ।’
नेता थापाले आपूर्ति व्यवस्थामा आश्वस्त पार्न सरकारको ध्यानाकर्षण समेत गराए । ‘सरकारले आश्वस्त गर्नु पर्यको कि कहीँ पनि सप्लाइ चेनलाई प्रभावित नगरियोस् । नागरिकले सामान होल्डि गर्नुहोला, कालाबजारीलाई अनुगमन र कारवाही गर्ने कुरा गर्नुपर्छ,’ उनले भने ।
इरानमा अघिल्लो दिनसम्म कुनै संक्रमण नदेखिएको र भोलिपल्ट एकैदिन दुई जनाको मृत्यु भएको उदाहरण पेश गर्दै सांसद थापाले नेपालले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
‘भविष्यमा महामारी फैलियो भने आइसोलेसनका लागि खाली भएका होटल र स्कूल हेरौं । सेल्फ आइसोलेसनमा जाने व्यवस्था गर्नुपर्छ । क्रिटिकल केयरका लागि सामान किन्न स्वास्थ्य मन्त्रालयले तयारी थालोस्,’ उनले भने ।
अहिले सचेत रहने बेला रहेकाले जनतालाई नतर्साउन उनले आग्रह गरे ।
‘हामीले समय पाएका छौं, यो गोल्डेन टाइम हो । सुझबुझपूर्ण कुरा गरेमा आत्तिनु पर्दैन । तत्काल एक्सन प्लान ल्याउन सरकारलाई निर्देशन दिऊँ र सरकारी कामको अनुगमनका लागि संसद्बाट विशष समिति बनाऊँ ।’