
अपांगता भएका व्यक्तिहरू पनि समाजका लागि केहि योगदान दिन सक्छन् भन्ने मान्यता कर्णालीका दूरदराजका बस्तीमा अझै पनि स्थापित भइसकेको छैन । अपांगता भएकाहरू धर्तीको बोझ मात्रै हुन भन्ने भनाइ अझैपनि गाउँमा सुन्न पाइन्छ तर अपांगता भएका व्यक्तिहरूले पनि राम्रो काम गरेका उदाहरणहरू प्रशस्तै भेटिन्छन् ।
अपांगता भएकै कारण विवाह गर्न नपाएका व्यक्ति हुन्- विष्णु प्रसाद शर्मा । दैलेखको साविक बेलपाटा गाविस ३, हाल डुंगेश्वर गाँपा १, बेलपाटामा २०२९ सालमा जन्मेका हुन् शर्मा । दुई दिदी, एक भाई र एक दाजुसहितका उनी मध्यम खालको परिवारमा जन्मिए । उनका बुवा कृष्णलाल शर्मा भारतमा एक कम्पनीमा काम गर्थे । आमा अमृता शर्मा गृहस्थी चलाउँथिन् ।
उनले जीवनमा धेरै संघर्ष गरे । कति दुःख त उनी सम्झन पनि चाहँदैनन् । साढे दुइ वर्षको हुँदा उनलाई लामो समयसम्म ज्वरो आएको रहेछ । विस्तारै उनको दाहिने हात र दाहिने खुट्ट सुक्दै गएछ । उतिबेला समाजमा धामी झाँक्री हेराउने, पूजा गर्ने चलन भएका कारण त्यसको उपचार हुन पाएन । उनी आफ्नी आमाले सुनाएको भनाइ स्मरण गर्दै भन्छन्, ‘दर्जन भन्दा बढी पाठा काट्ने, धेरैले झाँक्री लागेको, नयाँ जग्गा किनेको नफापेको भनेर धामीहरुले भन्थे । संयोग पनि कस्तो रहेछ भने मेरो घरमाथिको दाइको पनि एक हात र खुट्टा सुकेको रहेछ । उहाँलाई पनि त्यही भन्दा रहेछन् ।’
उनले थाहा पाउने बेलामा हात थोरै मसिनो थियो भने खुट्टा पनि थोरै मसिनो थियो । तलभन्दा माथि अझ मसिनो थियो । यद्यपि उनी सहजै हिँडडुल गर्थे । विसं २०५२ सालसम्म उनलाई पनि देवता लागेकै हुन् कि भन्ने लागिरहेको थियो रे ! तर पछि अस्पताल गए उनी । अनिमात्र उनले आफूलाई पोलियो रोग लागेको थाहा पाए ।
*****
८ वर्षको उमेरमा उनी विद्यालयमा भर्ना भए । 'एक कक्षामा नाम लेखाएर तीन महिनामा दुईमा लगियो, केही महिना पढेर मैले सीधै कक्षा तीनको परीक्षा दिएको थिएँ । नौ वर्ष कट्दा म कक्षा चारमा गइसकेको अवस्था थियो,’ उनी भन्छन्, ‘त्यो बेला म मा विद्रोही स्वभाव थियो ।’ त्यतिबेला उनलाई लाग्थ्यो- सबै मानिस एकै होइनन् र ? किन समाजमा बसोबास गर्ने बीच नै छोइछितो हुन्छ ?
यस्ता प्रश्नले आफूलाई बारम्बार झस्काउने गरेको उनी सुनाउँछन् । ‘म स्कूलबाट घर आउँदा छिटो हाल्नुपर्ने, दलित साथीहरूको संख्या कक्षामा धेरै थियो । कुनै भाँडा उनीहरूसँग छोइएको खण्डमा पानी र आगोले पखालेर मात्रै घरमा लिनुपर्ने अवस्था थियो । त्यसले मलाई के हो भन्ने लाग्थ्यो । दलित समुदायका साथीहरू मेरो घरको दलानमा बस्न पनि पाउँदैन थिए तर मेरो घरमा अरू कोही नभएको बेलामा म घरभित्रै पसाउँथेँ,' उनी भन्छन्, ‘तर मैले अपांगता भएका कारण धेरै विभेद भोगें । बाहुन परिवारमा जन्मेतापनि अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण नै अलग हुँदो रहेछ । बोलीचालीमा भेदभाव त कति हो कति भोगियो ।'
उनी अरू साथीहरूभन्दा बलियो तथा विद्रोही पनि थिए रे ! तर पनि आफ्ना हरेक कुरालाई अपांगता भएका कारण जोड्ने गरिँदा उनको मन दुख्थ्यो रे ।
अपांगता भएका व्यक्तिहरूलाई लुलो, लंगडो जस्ता शब्द प्रयोग गर्ने र खेलमा राम्रो गरेपनि डुडों जति पनि नसक्ने भनेर अरूलाई भन्दा आफ्नो चित्त दुख्ने गरेको उनी बताउँछन् ।
'होमवर्क राम्रो गरेको दिन डुंडे जति पनि लेख्न नसक्ने भन्दै अन्य सपांग भएका विद्यार्थीहरूलाई भन्ने गर्थे शिक्षकले । होमवर्क नगरेको वा कुनै काममा असफल भएको खण्डमा भविष्यमा के गरेर खान्छस् डुंडे भनेर भन्न पनि पछि पर्दैन थिए शिक्षकहरू,' उनले गुनासो पोखे, 'समुदाय र विद्यालय दुवैमा राम्रो गरेको खण्डमा जस पाउने वातावरण थिएन । त्यस्तो विभेदको अनुभव कति नमिठो हुन्छ भन्ने कुरा अहिलेका युवालाई थाहा नै छैन ।’
*****
विसं २०५१ सालमा उनी सुर्खेत झरे । एसएलसी दिइसकेपछि उनी दैलेखबाट सुर्खेत आएका हुन् । अपांगताका कारण उनले मन पराएको केटी साथीसँग विवाह गर्न पाएनन् । उतिबेला मात्रै उनलाई महसूस भएछ- म अरु भन्दा फरक रहेछु ।
विभेदको महसूस उनले नोकरीका लागि प्रयास गर्दा थाहा पाए । सुर्खेतका पचास गाविसमा तत्कालीन जिल्ला विकास समितिले प्राविधिक सहायकमा जागिर खोलेको थियो । उनी एसएलसी पास भएका कारण उक्त जागिर गर्न चाहन्थे तर अपांगता भएका कारण काम गर्न नसक्ने भन्ने धारणा जागिर दिनेहरूले बनाएको उनी बताउँछन् । त्यसपछि उनले थाहा पाए- अपांगता भएकाहरूका लागि जागिर खान पहुँच सम्भव रहेनछ ।
विसं २०५४ सालमा काठमाडौं गएर उनले कम्प्युटर सिके । काठमाडौंमा सिकेको सीपलाई उनले सुर्खेतमा प्रयोगमा ल्याए । उनले सुर्खेतमा गण्डकी कम्प्युटर इन्ष्टिच्यूट खोले । अपांगता भएकाहरूले पनि काम गर्न सक्छन् भनेर देखाउन आफैंले प्रशिक्षण दिए । विसं २०६१ सालमा उनले अपांगता सशक्तिकरण केन्द्र खोले । संस्था दर्ता गरे । संस्थाको अध्यक्ष आफैं भएका कारण साथीहरूलाई जोड्नुपर्ने अवस्था थियो । त्यहि बेलामा उनलाई आर्थिक बोझ आइलाग्यो ।
चलिरहेको इन्ष्टिच्यूट बेचे उनले । आर्थिक समस्या झन् थपियो । त्यसबेला आफूलाई मानिसहरूले असफल व्यक्ति भन्न थालेको उनले बताए । ‘त्यो भन्दा पहिले मैले सुर्खेतमा मेरो टोलको विद्यार्थीलाई विना पैसा पढाउँछु भनेर शुरू गरेँ । चार पाँच महिनापछि विद्यार्थी आउनै छाडे । मेरो घरको छिमेकमा सुर्ती रोप्थे, काउली रोपौं भनेर अभियान चलाएँ । एक वर्षपछि म असफल भएँ । उनीहरूले सुर्ती खेती पुन: शुरू गरे । साथीहरूसँग मिलेर पुस्तकालय खोल्यौं । ६ महिनामा ७० हजारभन्दा बढी पैसा र दुई हजार थान पुस्तक किन्यौं । त्यही पढेर चार पाँच जनाले लोकसेवामा नाम पनि निकाले,' उनले संघर्षका दिनहरू सम्झिए, 'मेरै समुदायका व्यक्तिले उद्यम मात्रै गर्छ, अरू केही गर्न सक्दैन भन्थे त्यो मलाई सबैभन्दा ठूलो चुनौती थियो । आम्दानी नहुने र निःशुल्क रूपमा काम गर्दा मान्छेहरूले त्यस्तो सोच्नु अहिले स्वभाविक लाग्छ ।’
उनले अगाडि भने, 'संस्था दर्ता भएपछि पारिवारिक रूपमा आर्थिक चुनौती थपिँदै आए । सबै भाईहरू २०५९ सालमा अलग भइसकेका थियौं बुवाआमासँगै म थिएँ । अभिभावकत्व पाइरहेको थिएँ । आर्थिक रूपमा दिन प्रतिदिन कमजोर बनिरहेको थिएँ । एक सय रुपैंया सापट नपाएर म एक्लै धेरै पटक रोएको छु । तड्पेको छु । के म जीन्दगीबाट हार्छु त भनेर रोएको छु ।
उनलाई सुर्खेतमा रहेका विभिन्न संस्थाले राम्रै सहयोग गरे । त्यसैको फलस्वरूप आज वर्षमा दुई सय भन्दा बढी अपांगता भएकाहरूलाई उनले केही न केही सहयोग गर्छन् । ‘आवश्यक सामाग्री, काउन्सिलिङ, आय आर्जनका काममा लगानी गरिदिने, सामाग्रीहरू दिने काम गरिरहेको छु,’ उनले सुनाए । अप्रत्यक्ष रूपमा वर्षमा पाँच सय भन्दा बढी व्यक्तिलाई सहयोग गर्दै आइरहेको उनको भनाइ थियो ।
हाल केन्द्रको कार्यकारी निर्देशकको रूपमा उनले काम गरिरहेका छन् । ३० जना कर्मचारीहरू केन्द्रमा कार्यरत रहेका छन् । बहिरासँग सांकेतिक भाषामा उनी कुरा गर्न सक्छन् । ब्रेलमा उनले तालिम लिएका छैनन् । उनी भन्छन्, 'हाम्रा विकास निर्माणमा अपांगता भएकाहरूलाई ध्यान दिन राज्यले सकेको छैन । अपांगता मैत्री संरचना निर्माणमा सरकारको ध्यान जान सकेको छैन ।'
दस्तावेजमा मात्रै नभएर व्यवहारमा नै अपांगता भएका व्यक्तिहरूलाई आरक्षणको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । उनी थप्छन्, 'त्यति गरेको खण्डमा अपांगता भएका व्यक्तिहरू आफैं सफल हुन्छन् । राज्यले धेरै लगानी गर्नु आवश्यक नै हुँदैन ।'
उनी राष्ट्रिय अपांग महासंघ कर्णालीका अध्यक्ष हुन् । उनी कर्णाली प्रदेशका केही जिल्ला घुमेका छन् । त्यसबीचमा उनले अपांगता भएका व्यक्तिहरूले अध्ययन गरेर के नै हुन्छ र भन्ने सोच भएका धेरै मानिस पनि देखे । त्यसैले उनी भन्छन्, 'यो सोचबाट मानिसहरू मुक्त हुन आवश्यक छ ।’
मिडियाले अहिलेपनि अपांगता भएकाहरूका केही समस्या मात्रै लेखिरहेको उनले बताए । अपांगता भएकाहरू पनि समाज रुपान्तरण तथा आर्थिक समृद्धिको पाटोमा उदाहरणीय काम गर्न सक्छन् भन्ने सकारात्मक समाचार कम आउने गरेको उनको भनाइ छ । 'यस्ता समाचार आइदिएको भए अपांगता भएकाहरूले सकारात्मक शिक्षा ग्रहण गर्ने थिए । सफलताका कथा या अन्य पेशा व्यवसायमा पाएको र व्यहारेको कथा व्यथा मिडियाले ल्याइदेओस् भन्ने हाम्रो चाहना हो,' उनले भने ।