०२ असार २०८३, मंगलबार

मौसम परिवर्तनसँगै सिलगढीका डाँडामा हिमपात

फागुन २४, २०७६
मौसम परिवर्तनसँगै सिलगढीका डाँडामा हिमपात
फाइल फोटो

बिहीवार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडाकाँडामा शुक्रवार रातिदेखि बाक्लो हिमपात भएको छ ।

डोटीसहित अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ । 

हिमपातका कारण पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । योसहित पहाडी जिल्लामा सातौं पटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि २ फुट हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । 

फागुन ९ गते परेको हिउँ पग्लिन नपाउँदै फेरि शुक्रवार रातिदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

डोटीकोे खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान, नापानी, चिरकिट्टे, उदैनि, देउताल, मुस्ताल लगायतका क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईबस्तु चराउन समस्या भएको शिखर नगरपालिका–१ नापानीका स्थानीय दीर्घबहादुर बोगटीले बताए ।

‘केही दिन पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छ, हिमपातले समस्या भएको छ,’ उनले भने । हिमपाताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका लेकाली क्षेत्रका स्थानीय भने अहिले सातौं पटक हिउँ परेपछि हिउँले गहुँलगायतका अन्य तरकारीखेती कुहिने तथा बिग्रिने भन्दै किसान चिन्तित बनेका छन् ।

हिमपातसँगै चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित हुने चिकित्सक बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्