
नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेसन (एप) सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमाकुमारी अर्यालले शनिवार पोखरामा आयोजित कार्यक्रममा सो एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई अधिकत उपयोगमा ल्याउनुपर्नेमा जोड दिइन् ।
‘हिजो प्रविधि थिएन, फित्ता लिएर नाप्दै हिँड्नुपथ्र्यो, धेरै समस्या थिए । अब प्रविधिले यस्ता समस्याका समाधान गरिदिएको छ । अब काम छिटोछरितोसँगै बिचौलियाको अन्त्यसमेत हुनेछ,’ उनले भनिन् । मन्त्री अर्यालले सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न र व्यक्तिगत स्वार्थमा नलाग्न कर्मचारीलाई आग्रह गरिन् ।
कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सुशासन स्थापित गर्न प्रविधिमैत्री रूपबाट अघि बढेको जानकारी दिँदै यस एप देशैभर पुर्याइने बताए । नापी कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउन ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप तयार गरिएको जानकारी दिए ।
‘बिचौलियाले कर्मचारीको नाम बेचेर सेवाग्राहीलाई हैरानी दिएका छन् । अब यस एपले बिचौलियाको अन्त्य गर्नेछ । सेवाग्राहीले चाहेको समयमा सेवा लिन पाउनेछन्,’ उनले भने ।
सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रर उतार, फिल्ड रेखांकन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ । एपमा कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचा उपलब्ध छ ।
कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था र भविष्यमा अनलाइनबाट नै राजस्व तिरी सेवा लिन सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइयो ।
नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको एप पहिलोपटक शुरू गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा बिचौलियाको सहयोगबिना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन एप कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।