
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पद र प्रतिष्ठाको लडाईं केन्द्रमा मात्रै होइन प्रदेश र जिल्ला तहमा पनि चुलिएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजपाका २ सांसदबीच २ वर्षदेखि पद र प्रतिष्ठाको लडाईं चल्दै आएको छ ।
प्रदेश सभामा राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद कृष्णबहादुर चौधरी र पार्टीकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी मालामती रानाथारु (समानुपातिकतर्फ) ले प्रतिनिधित्व गर्दै आएका छन् ।
कुनैपनि राजनीतिक दलले संसद्मा आफ्नो दलको नेतृत्वका लागि संसदीय दलको नेता, सचेतकलगायत चयन गर्नुपर्ने हुन्छ । भागबण्डा मिल्ने हो भने दुवैलाई एक–एक पद मिल्ने पक्का छ ।
सुदूरपश्चिममा सत्ता पक्षीय दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिले नै दलका नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइसकेका छन् । तर सुदूरपश्चिम प्रदेश गठन भएको २ वर्ष गुज्रेपनि अर्को प्रतिपक्षी दल राजपाले टुंगो लगाउन सकेको छैन ।
दुवै जनाले संसदीय दलको नेतामा दाबी गरेपछि विवाद सुल्झिनुको साटो बढिरहेको छ । सांसद रानाथारु आफू पार्टीको वरीयतामा वरिष्ठ रहेकाले दलको नेता आफू बन्न पाउनुपर्ने अडानमा छिन् भने चौधरीले आफू प्रत्यक्ष निर्वाचित भएकाले आफूले पाउनुपर्ने अडान राखेका छन् ।
दुवैजना अडानमा टसकोमस नहुँदा विवाद २ वर्षसम्म पनि सुल्झिन सकेको छैन ।
एकताका राजपा कैलालीले सांसद चौधरी दलको नेता हुने भन्दै संसद् सचिवालयमा नाम सिफारिश गरेको थियो । तर सांसद रानाथारुले आफूलाई कुनै जानकारी नै नदिई एकलौटी ढंगले सिफारिश गर्ने निर्णय गरेको भन्दै कड्किएपछि त्यो सिफारिश त्यहीँ तुहियो ।
त्यसपछि बल्झिएको विवादले धेरै समयसम्म २ सांसदबीच बोलचाल नै बन्द भएको राजपा कैलालीका जिल्ला नेताहरू बताउँछन् । हाल समान्य बोलचाल भएपनि उनीहरूबीचको प्रतिष्ठा र पदीय लडाईं जस्ताको तस्तै छ ।
आफू वरिष्ठ रहेकाले आफ्नो दाबी स्वभाविक रहेको सांसद रानाथारु बताउँछिन् । ‘पार्टीभित्रको वरीयता क्रमअनुसार मेरो हैसियत ठूलो हो । अर्कोकुरा म संविधान सभा सदस्य समेत भैसकेकाले नैतिक हिसाबले पनि मैले नै पाउनुपर्ने हो, तर एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा हामी दुुईटैलाई घाटा भएको छ,’ उनले भनिन् ।
अर्का सांसद चौधरीले संसदीय अभ्यासको आधारमा दलको नेता आफूले पाउनुपर्ने दाबी गरे । ‘कुनैपनि राजनीतिक दलमा प्रत्यक्ष निर्वाचित सांसदले नेतृत्व गर्नु पाउनुुपर्ने संसदीय अभ्यास नेपालमा रही आएको छ, जुन कारणले कुनैपनि हालतमा मैले नै पाउनुपर्ने हो,’ उनले भने ।
जिल्ला र प्रदेशले विवाद सुल्झाउन नसकेपछि केन्द्र गुहारिएको थियो । ‘यहाँ टुंगो नलागेपछि हामीले टुंगो लगाइदिन केन्द्रीय कमिटीलाई अनुरोध गरेका थियौैं, तर हालसम्म कुनै निकास आएको छैन,’ उनीहरू भन्छन् ।
अहिले राजपामा ६ सदस्यीय अध्यक्षमण्डल छ । २–२ महिनामा नेतृत्व लिने चक्रीय प्रणालीअनुसार पार्टी चलेको छ । अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव रहेका छन् । ती ६ जनाबीच पनि रस्साकस्सी चल्दै आएको छ ।
दलको संसदीय दलका नेताले संसद्बाट थप सेवा सुविधा पाउने भएकाले दुवैजना आफ्नो अडानबाट सितिमिति पछाडि हट्ने मनस्थितिमा देखिँदैनन् ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार अन्य राजनीतिक दलका संसदीय दलका नेताले प्रदेश सभा सचिवालयबाट थप अतिरिक्त सुविधाको रुपमा अलग्गै सचिवालय, गाडी र इन्धनलगायत सुविधा पाउँदै आएका छन् । तर राजपा लामो समयसम्म पनि दलको नेता टुंगो लगाउन नसक्दा ती सेवाबाट विमुख हुँदै आएको छ ।
दुई मात्र सांसद रहेको पार्टीको यस्तो विवादले संसद्मा राजपाको उपस्थिति पनि फितलो बनिरहेको छ ।