
उत्तर कोरियाले सोमवार छोटो दूरीका अनेकौं क्षेप्यास्त्रहरू समुद्रमा खसाएर परीक्षण गरेको छ । तीन महिनासम्म शान्त रहेपछि अहिले आएर उत्तरले धमाधम हतियार परीक्षण गरिरहेको हो ।
परीक्षण गरिएका हतियारमा मल्टिपल लोन्च रकेट सिस्टम पनि छ । यो ५० किलोमिटरको उचाइमा २०० किलोमिटरसम्म उडेको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले जनायो ।
ती क्षेप्यास्त्रहरू पूर्वी भागमा रहेको तटीय शहर सोन्दोकबाट प्रक्षेपण गरिएको थियो । त्यहाँबाट नै पोहोर साल पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको थियो ।
फेब्रुअरीदेखि शुरू गरिएको फायरिङ ड्रिलकै एक हिस्साका रूपमा यो पछिल्लो परीक्षण गरिएको र किम जोङ–उनले यसको निगरानी गरेको जोइन्ट चीफ्स अफ स्टाफको भनाइ छ ।