
धनगढी उपमहानगरले फागुन २१ गते ‘आमनगरवासीसमक्ष सादर अपिल’ भन्दै सार्वजनिक सूचना जारी गर्यो । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट बच्न भन्दै जारी गरिएको सूचनामा हल्दी अर्थात् बेसार, बोझो र लसुनको सेवन गर्दा संक्रमणबाट बच्न सकिने उल्लेख छ ।
सर्वसाधारणका नाममा सूचना निकाल्ने धनगढी उपमहानगर एक्लो छैन । अधिकांश स्थानीय तह र जिल्ला प्रशासनले निकालेका यस्ता सूचनामा उल्लिखित तथ्य अपुष्ट र भ्रामक देखिन्छन् । धनगढी उपमहानगरले भनेजस्तो बेसार, लसुन र बोझोले संक्रमणबाट बच्न सकिने प्रमाणित तथ्य होइन । कोभिड–१९ बारे सामाजिक सन्जाल र अनलाइन मिडियामा भ्रमपूर्ण सूचना प्रवाह भएको भन्दै विश्व स्वास्थ्य संगठनले यस्तो शैलीलाई सूचना संक्रमण अर्थात् ‘इन्फोडेमिक’ भनेको छ । संगठनले लसुनमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तत्त्व भए पनि यसैको सेवनले कोभिड–१९ बाट बच्न नसकिने जनाएको छ ।
संक्रमणबाट बचिने नाममा सर्वसाधारणलाई भ्रमित पार्ने सूचना सामाजिक सन्जाल र अनलाइन माध्यममा व्यापक भएको भन्दै आइतबार बीबीसीले एक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त रिपोर्टमा गलत स्वास्थ्य सुझाव हानिकारक हुने उल्लेख छ । ‘फलफूल, तरकारी र पानी खानु स्वस्थ रहनका निम्ति राम्रो कुरा हो तर कुनै निश्चित खानेकुरा खाँदैमा भाइरसबाट बच्न सकिन्छ भन्ने तथ्य भ्रामक हो,’ रिपोर्टमा छ ।
साउथ चाइना मर्निङ पोस्टले फेब्रुअरी १५ मा कोरोना भाइरसबाट बचिने नाममा फैलिएका गलत सन्देशले एक जनाको झन्डै ज्यान गएको समाचार छापेको छ । लसुन खाए कोरानाबाट बचिने सुनेपछि पूर्वी चीनको झिज्याङ प्रान्तकी एक चिनियाँ महिलाले दुई साताको अवधिमा डेढ किलो काँचो लसुन खाएकी थिइन् । अत्यधिक लसुन सेवनले जलन भएपछि उनलाई अस्पताल लैजानुपरेको थियो ।
एकीकृत सूचना प्रणालीको अभावमा स्थानीय तहबाट कोरोना भाइरसबारे सार्वजनिक सूचना फरक–फरक खालका छन् र कतिपय एकापसमा विरोधाभासपूर्ण पनि देखिन्छन् । फागुन २३गते स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीको नामबाट जारी सूचनामा संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने बानी बसाउन अनुरोध गरिएको छ ।
जबकि विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणबाट बच्न यति मात्रै पर्याप्त छैन । न त मासु र अण्डा राम्रोसँग पकाएर खाँदैमा जोगिन सकिन्छ । फागुन २३ मै कपिलवस्तुको कृष्णनगर नगरपालिकाले कोरोना भाइरसबाट बच्नका निम्ति सार्वजनिक सूचना जारी गरेको थियो । जसमा भाइरसबाट जोगिने उपाय भन्दै सकभर होटल, रेस्टुरेन्ट आदिको खाना नखाने, नियमित रूपमा शारीरिक व्यायाम र प्रशस्त मात्रामा पानी पिउने उपाय सुझाइएको छ । पानीको नियमित सेवन र व्यायाम रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन उपयोगी भए पनि यो संक्रमणबाट बच्ने उपाय होइन । जबकि विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्नका निम्ति नगरपालिकाले सुझाएको जस्तो उपाय सुझाएको छैन ।
विश्वव्यापी रूपमा संक्रमण तीव्र बन्दै जाँदा नेपालमा केन्द्रीकृत सूचना प्रणालीको अभावमा गलत सन्देश र सूचनाको फैलावट सरकारी तबरबाटै भइरहेको छ । खासगरी स्थानीय तहबाट जारी सूचनामा एकरूपता पाइँदैन, त्यसमा प्रयुक्त तथ्य पनि अपुष्ट देखिन्छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस नियन्त्रण गर्ने उपचार विधि अहिलेसम्म प्रमाणित भइनसकेको बताए । ‘सामाजिक सन्जालमा वा अन्यत्रका सूचना जस्तो यो खाएर, त्यो खाएर कोरोना निको हुन्छ भन्ने हुँदै होइन,’ उनले भने ।
फैलिँदै छ अफवाह
युट्युबमा ‘कोरोना भाइरस’ सर्च गर्नुभयो भने दर्जनौं भिडियो कन्टेन्ट देखा पर्छन् । त्यस्ता अधिकांश कन्टेन्टमा सर्वासाधारणलाई अत्याउने र तर्साउने खालका भ्रामक र गलत सूचना छन् । विश्वव्यापी रूपमा सामाजिक सन्जालमा कोरोना भाइरस नियन्त्रण गर्न सकिने नाममा अनेकन अफवाहहरूको प्रसार भइरहेको छ । फेसबुकमा कल्पना आचार्य बस्ताकोटीले लेखेकी छन्, ‘नेपालमा कोरोना भाइरसले भन्दा त्यसको समाचारले मान्छे बढी बिरामी हुने भए भन्ने लाइरा’ छ । युट्युबरहरूलाई कोरोना भाइरस घोषणा गर्न कति हतारो हो के ?’
असम यु आर नामको युट्युब च्यानलमा फेब्रुअरी २ मा एउटा भिडियो पोस्ट गरिएको छ । ‘कोरोना भाइरस यी महिलाको गल्तीले फैलेको भ्रम’ शीर्षकमा पोस्ट गरिएको उक्त भिडियो सोमबारसम्म १ लाख ७२ हजार जनाभन्दा धेरैले हेरिसकेका छन् । ‘क्लिक बेट’ अर्थात् गलत शीर्षक र तथ्यसहितको सामग्री राखेर झुक्याउने काम युट्युबमा राखिएका कैयन् सामग्रीबाट भएको देखिन्छ । जसमा कोरोना भाइरस सम्बन्धित भ्रामक तथ्यहरूलाई सत्य भएझैं गरेर शीर्षकमा राख्ने गरिएको छ । उक्त भिडियोमा एक चिनियाँ महिलाले चमेरो खाइरहेको दृश्य छ र तिनै महिलाले चमेरो खाएकाले कोरोना भाइरस फैलिएको भन्ने अप्रमाणित स्रोतलाई उल्लेख गरिएको छ ।
युट्युबमा मात्रै होइन, फेसबुकमा पनि कोरोना भाइरसबाट बच्न सकिने भन्दै कैयन् अप्रमाणित र अपुष्ट खबर फैलिरहेको देख्न पाइन्छ । चीनको एक विश्वविद्यालयका विद्यार्थी बताउने लैला अहमतिसको नामबाट सामाजिक सन्जालमा फैलिएको एउटा सन्देशमा कागती पानीको सेवनले कोरोना भाइरसविरुद्ध प्रतिरक्षा क्षमता बढ्ने उल्लेख छ । उक्त सन्देशमा चीनको बेइजिङ मिलिटरी अस्पतालका प्रोफेसर चेन होरिनलाई उद्धृत गर्दै कागतीको टुक्रालाई मनतातो पानीमा राखेर खाँदा कोरोनाविरुद्ध लडने प्रतिरक्षा हासिल हुने उल्लेख छ ।
सामाजिक सन्जालका कैयन् नेपाली प्रयोगकर्ताको फेसबुकमा पनि यो सन्देश फैलिएको छ । ब्राजिल, नाइजेरिया र फ्रान्सलगायतका देशमा पनि यो सन्देश व्यापक छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले यो सन्देश गलत भएको सार्वजनिक प्रस्टीकरण दिइसकेको छ । अफ्रिका चेक नामक वेबसाइटले पनि लैलाको नाममा जारी भएको सन्देश गलत भएको र लैला नाम गरेको कोही व्यक्तिको पुष्टि नभएको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जाल र युट्युबमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने सूचनाहरूमाथि निगरानी गरिरहेको छ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले जनमानसमा भ्रम फैलाउने र डर पैदा गर्ने खालका अफवाह नियोजित रूपमा फैलाउनेमाथि निगरानी राखिरहेको बताए । उनले भने, ‘फाइदाको उद्देश्य राखेर कोरोना भाइरसको संक्रमणबारे जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालका भ्रमपूर्ण सन्देश फैलाउनु उचित होइन । त्यस्तो गर्नेमाथि निगरानी भइरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।