
कोरोनाभाइरससँग लड्न चीनले पहिलोपटक इन्टेलिजेन्ट अस्पताल बनाएको छ । अस्पतालमा ५जी रोबोटहरूले २४ घन्टा नै रोगीहरूको स्याहार गर्नेछन् ।
६ विभिन्न प्रकारका रोबोटहरूलाई चिकित्सकको भार कम गर्नका लागि खटाइएको छ । अनि चिकित्सक र रोगीहरूबीच संक्रमण नसरोस् भनेर पनि रोबोट खटाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यो उच्च प्रविधियुक्त कार्यक्रा गत शनिवार वुहानस्थित वुचाङ फील्ड अस्पतालमा शुरू गरिएको हो ।
रोबोटहरूले रोगीको तापक्रम लिन्छन् र उनीहरूलाई खाना पस्किन्छन् । उनीहरूले गश्ती पनि लगाउँछन् र अस्पताल क्षेत्रलाई संक्रमणमुक्त बनाउन रसायन पनि छर्छन् ।
भिडियोमा जिंजर नामक रोबोटले सुरक्षात्मक हाजमात सुट लगाएका चिकित्सकहरूसँग नाचेको अनि क्वारेन्टाइनमा बसेका रोगीहरूले हेरेको देखिन्छ ।
५जी प्रविधिले चिकित्सकहरूलाई रोबोटबाट संकलित आँकडा उपयोग गर्न र टाढा बसेर रोगीहरूको लाइभ अप्डेट लिन पनि सहज बनाएको छ ।