
काठमाडौं, ६ वैशाख - निर्वाचन आयोगले आयोगको काम कारबाहीलाई लिएर राप्रपाले गरेको गतिविधीमा चासाे प्रकट गरेको छ ।
आयोगले गरेको कार्य सम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित भएका विचार र पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले एक प्रेस विज्ञप्ती जारी गर्दै थप लेखेको छ - 'सो पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउने तथा सो व्यहोराको विज्ञप्ति जारी गर्नेसम्मका क्रियाकलाप भएको र मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यस प्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको छ ।
नेपालको संविधान र कानून अनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको छ ।'