भारतको मध्य प्रदेशमा १५ महिनाअघि बनेको कांग्रेस सरकार संकटमा परेको छ ।
कांग्रेस नेता ज्योतिरादित्य सिन्धिया बागी हुँदै पार्टी छोडेर गएपछि २२ विधायकले राजीनामा दिइसकेका छन् । भाजपाले त यो संख्या ३० सम्म पुग्ने बताएको छ । त्यत्तिका विधायक हिँडिदिँदा कांग्रेसलाई सरकार चदाउन आवश्यक बहुमत पुग्दैन ।
कांग्रेस यस्तो स्थितिमा कसरी पुग्यो ? खासमा भन्ने हो भने कांग्रेसले सिन्धियाको शक्तिको अन्दाजै गर्न सकेन । मुख्यमन्त्री कमलनाथ र वरिष्ठ नेता दिग्विजय सिंहलाई सिन्धिया गुट यति बलियो होला भन्ने लागेकै थिएन ।
वास्तवमा सिन्धिया केही समययता पार्टीसँग असन्तुष्ट थिए । तैपनि प्रदेश कांग्रेसले ग्वालियर र गुना क्षेत्रमा पाँचभन्दा बढी विधायकको समर्थन सिन्धियालाई नहुने आकलन गरेको थियो । त्यही विश्वासका कारण कमलनाथ र सिंहले सिन्धियालाई आफ्नो तागत देखाउन बाध्य बनाए ।
सिन्धियाले पार्टी छोडेछन् भने पनि सरकार चाहिँ गिराउन सक्दैनन् भन्ने कांग्रेसको अनुमान थियो । उनले केही विधायक लगे भने पनि कमलनाथसँग सम्पर्कमा रहेका भाजपाका केही विधायक आफूतिर तानेर सरकार कायम राख्न सकिने कांग्रेसको आकलन थियो ।
तर वास्तविकता पूरै फरक भइदियो । सिन्धियासँगै २० भन्दा बढी विधायकले राजीनामा दिइसकेका छन् र भाजपा प्रवेश गर्न लागिरहेका छन् । यसले गर्दा कांग्रेसको राज्य इकाइ स्तब्ध छ ।
समस्याको आरम्भ सन् २०१८ को डिसेम्बर महिनामा कांग्रेसको जीतसँगै भइसकेको थियो । दिग्विजय सिंहले कमलनाथलाई समर्थन दिए र सिन्धियालाई पन्छाए । त्यसपछि सन् २०१९ को लोकसभा चुनावमा सिन्धिया हारे ।
अनि उनले राज्यसभा सीट र प्रदेश कांग्रेसमा आफ्नो दाबी प्रस्तुत गरे । त्यहाँ पनि दिग्विजय र कमलनाथको जोडीले उनलाई निराश पारे । अघिल्लो साता पार्टीका केही विधायक गायब हुँदा त्यसलाई सिन्धियाको राज्यसभा सीट दाबीका रूपमा हेरियो ।
प्रियंका गान्धीलाई मध्य प्रदेशबाट राज्यसभामा पठाउने प्रस्ताव पनि सिन्धियालाई सिध्याउनका लागि नै रचिएको कदमका रूपमा बुझियो ।
राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएपछि प्रदेश इकाइलाई राजनीति गर्न दिए । प्रदेशका नेताले सिन्धियालाई पेल्दै लगेपछि उनी भाजपातिर जान चाहे ।