०३ साउन २०८३, आइतबार

उद्योगमा आगलागी: एकको शव फेला, एक घाइते

फागुन २८, २०७६
उद्योगमा आगलागी: एकको शव फेला, एक घाइते
File Photo

आगलागीबाट ध्वस्त भएको बाँकेको जानकी गाउँपालिका–३ खजुरारोडस्थित चप्पल उद्योगमा एक जनाको शव फेला परेको छ।

मङ्गलवार राति करीब १२ बजेदेखि चप्पल उद्योग जय सियाराम मेनुफ्याक्चरिङ इन्डष्ट्रिज प्रालिमा लागेको आगो बुधबारबिहान नियन्त्रणमा लिएर खोजतलास गर्दा जलेको अवस्थामा एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार शवको सनाखत हुन सकेको छैन। उद्योगमा कार्यरत कर्मचारी र आगलागीका कारणबारे प्रहरीले सोधीखोजी गरिरहेको छ। आगलागीमा परी उद्योगमा कार्यरत कर्मचारी दिलीपकुमार चमार घाइते हुनुभएको छ। हातखुट्टा पोलिएर घाइते अवस्थामा भेटिएका चमारको भेरी अस्पतालमा उपचार भइरहेको छ। 

आगलागीबाट उद्योगको कच्चापदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ। बाँके र बर्दियाका छवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

अमरजीत सिंहले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस, पोछालगायत सामग्री उत्पादन हुँदै आएको थियो। आगलागीबाट करीब एक करोड बराबरको क्षति भएको अनुमान गरिए पनि होली पर्वमा  कामदार बिदामा रहेका कारण क्षतिको यकिन विवरण आउन नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्