
सांसदहरूले कोरोनाको संक्रमणबाट बच्न शैक्षिक संस्थाहरू तत्काल बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा सांसदहरूले कोरोनाको सन्त्रासबीच संसद् चलाउनु उपयुक्त नभएको बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको सम्भावित भयावहलाई रोक्न स्कूल बन्द गर्नुपर्ने बताएका हुन् ।
‘विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको अवस्थामा भयावह अवस्था आउन नदिन स्कूल बन्द गर्नुपर्यो,’ पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले भने, ‘अहिले संसद्लाई निरन्तर चलाउन आवश्यक छैन, कोरोनाको संक्रमण फैलियो भने नेपालले भयावह रोक्न सक्दैन ।’
नेपाली कांग्रेसकै भरतकुमार शाहले कोरोनाको त्रास बढिरहेको समयमा संसद् बैठक लामो चलाउनुको औचित्य नरहेको बताए ।