
नेपाल आयाल नियम मनाङ मर्स्याङ्दी क्लब १८औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनल पुगेको छ ।
पोखरा रंगशालामा बिहीवार सम्पन्न दोस्रो सेमीफाइनलमा विभागीय नेपाल आर्मीलाई ३–२ गोलअन्तरले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो ।
उसले अब शनिवार अर्को विभागीय क्लब नेपाल पुलिससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
साविक उपविजेता आर्मी पोखरा रंगशालामा अभागी टिम मानिन्छ । १२ पटकसम्मको सहभागितामा गत संस्करणसहित सातौं, आठौं, चौधौं संस्करणमा फाइनल खेलेको आर्मी उपविजेतामै सीमित रहेको थियो । यसपालि भने ऊ सेमिफानलबाटै घर फर्कियो ।
नेपाल आर्मीको यसपालिको उपाधि सपना चकनाचूर पार्न मनाङका लागि विदेशी खेलाडी फ्लोरेन्टले खेलको ४ मिनेटमै गोलको खाता खोलेका थिए ।
उनले सुशील लामाको पासलाई सदुपयोग गर्दै विपक्षी पोष्टको जाली चुमाएका हुन् ।
त्यस्तै, खेलको २९ मिनेटमा मनाङका विमल रानाले गोल गर्दै गोलअन्तर २–० मा पुर्याउन सफल भए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका हुन् ।
त्यस्तै, खेलको ४१ औं मिनेटमा आर्मीले गोल गर्दै गोलअन्तर घटायो । उसका लागि भरत खवासले गोल गरे ।
पहिलो हाफ २–१ अन्तरमा सकिएकोमा निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट थप १–१ गोल भयो ।
खेलको ८१ औं मिनेटमा मनाङका लागि अञ्जन विष्टले गोल गर्दै ३–१ को स्थितिमा लगेका थिए, त्यसको २ मिनेट नबित्दै आर्मीका लागि दीप थापाले ३–२ को स्कोर बनाए ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङका फ्लोरेन्टले म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाए ।
जीतपछि प्रशिक्षक पूजा टोपेले सोचेअनुरूप खेल प्रदर्शन गर्न सकेको भन्दै सन्तुष्टि व्यक्त गरे । उनले विपक्षीको खेल कौशलको समेत प्रशंसा गर्दै फाइनलमा नेपाल पुलिससँग खेल ‘टफ’ नै हुने बताए ।
आर्मीका प्रशिक्षक नवीन न्यौपोनले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको स्वीकारे ।
उनले दोस्रो हाफमा कमब्याक गर्ने आफ्नो कोशिश सफल हुन नसक्दा फाइनल पुग्न असम्भव भएको बताए ।
शनिवार मनाङ र नेपाल पुलिसबीच फाइनल भिडन्त हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
मनाङले हालसम्म ९ पटक फाइनल यात्रा तय गर्दा ५ पटक उपाधिमाथि कब्जा जमाएको छ ।
अघिल्लो संस्करणमा मनाङ अन्तिम चारबाटै बाहिरिएको थियो । छैटौ र सातौं संस्करण नलेखेको मनाङ पुलिसपछि लगातार सहभागी हुने टीममा पर्दछ ।