०३ असार २०८३, बुधबार

कोरोना प्रभाव : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ’

फागुन ३०, २०७६
कोरोना प्रभाव : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ’

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ। उनीहरू यसै महिना जाने तयारीमा थिए।

राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए। ‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउनेबित्तिकै उनीहरू जान्छन्। राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हांै।’

राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ।

राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ।

पछिल्लो तथ्यांकअनुसार राष्ट्रसंघका विभिन्न मिसनमा पाँच हजार ९६ जना सैनिक अधिकारी तैनाथ छन्। राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीका २ सय ३९ र सशस्त्र प्रहरीका ३ सय ६४ जना विभिन्न शान्ति मिसनका काम गर्दै आएका छन। नेपाली सेनाले सन् १९५८ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत पहिलोपटक लेबनानमा पाँचजना सैनिक पर्यवेक्षक पठाएको थियो।

सन् १९७४ मा शान्ति सेना स्थापनार्थ इजिप्टमा पहिलो नेपाली कन्टिजेन्टका रूपमा पुरानो गोरख गण खटिएको थियो। सन् १९५८ देखि हालसम्ममा १ लाख २९ हजार ८ सय ९९ सैनिक अधिकारी राष्ट्रसंघको आह्वानमा विभिन्न शान्ति मिसनमा खटिइसकेका छन्। तीमध्ये एक हजार चार सय १ महिला छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्