
भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निवर्तमान महावाणिज्यदूत एकनारायण अर्याललाई एक समारोहका बीच बिदाइ गरिएको छ ।
महावाणिज्य दूतका रूपमा अर्यालले उत्कृष्ट छाप छाडेको बिदाइ समारोहमा उपस्थित कूटनीतिज्ञ तथा उद्योगी/व्यवसायीहरूले बताए ।
नेपाल सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उनी महावाणिज्य दूतावासबाट बिदा भएका हुन् ।

बिदाइ कार्यक्रममा कोलकातास्थित नेपालको पारवहन र व्यापारसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरूले उनको समन्वयकारी भूमिकाको खुलेर प्रशंसा गरे ।
अर्यालले आफ्नो कार्यकालमा नेपाल-भारत पारवहन तथा व्यापार प्रवर्द्धनमा द्रूत, पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धति बसाएका थिए ।
निर्भिक छवि भएका अर्याल इमान्दार प्रशासकको रूपमा चिनिन्छन् ।
महावाणिज्यदूत नियुक्त हुनुअघि उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारी छँदा खाद्यान्नमा कालोबजारी गर्ने र न्यून गुणस्तरको खाद्य सामग्री बेचेर उपभोक्ता ठग्ने गरेको आरोपमा ठूला घरानाका व्यापारीहरूलाई समेत कारवाहीको दायरामा ल्याएका थिए ।
अर्यालले त्यतिबेला कारवाहीको दायरामा ल्याएकाहरूमाथिको मुद्दा अहिले पनि विचाराधीन छ ।
भारतको कोलकातामा नेपालका अलावा अमेरिका, बेलायत, फ्रान्स, जापान, रसिया लगायत १३ देशका महावाणिज्य दूतावास र अन्य ६२ देशका अवैतनिक महावाणिज्य दूतावास छन् ।