
वाग्मती करिडोरअन्तर्गत दोभानदेखि बालकुमारी पुल हुँदै लोकन्थलीसम्मको सडक आगामी महिना कालोपत्र हुने भएको छ ।
माइतीघर–सूर्यविनायक सडकको विकल्पका रुपमा रहेको सो करिडोर अहिले नै सञ्चालनमा रहे पनि आगामी महिनासम्ममा कालोपत्र भइसक्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
सडकमा गत महिना ग्राभेल भएसँगै सञ्चालनमा आउन थालेको समितिका परियोजना निर्देशक लीलाप्रसाद ढकालले बताए । सो सडक कालोपत्र भएसँगै नै मुख्य सडकको विकल्पका रुपमा प्रयोग हुन थालेको उनको भनाइ छ ।
उनले भने, ‘सडक प्रयोग गर्नेहरु अहिले जाममा बस्नु नपरेको बताइरहेका छन्, कालोपत्र भइसक्दा अझै सजिलो हुनेछ ।” अहिले बल्खुबाट थापाथली हुँदै सङ्खमूलसम्मको करिडोरमा सवारीसाधन चल्न थालेका छन् ।’
लोकन्थलीसम्मको सडक कालोपत्र भए पनि बल्खुबाट लोकन्थलीसम्म मुख्य सडक नपुगी यात्रा गर्न सकिने परियोजना निर्देशक ढकालले बताए । लोकन्थलीबाट कौशलटार हुँदै चारदोबाटोसम्मको करिडोर निर्माणको तयारी भए पनि निर्माणस्थल खाली गराउन कठिन रहेको आयोजनाले जनाएको छ ।
उनले भने, ‘यो खण्डमा कतिपय व्यक्तिले नदीको जग्गा आफ्नो नाममा दर्ता गरेका छन् भने कतिपय स्थानमा नगरपालिकाले पनि अवरोध गरिरहेका छन् ।’
सरकारले विसं २०५२ देखि नै वाग्मती र यसका सहायक नदीहरुमा करिडोर निर्माण शुरु गरेको थियो । करिडोरको निर्माणले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा मुख्य सडकको चाप कम हुने विश्वास गरिएको छ ।
करिडोरको निर्माणसम्पन्न भएपछि बल्खुबाट सङ्खमूल, बालकुमारी, चारदोबाटो हुँदै सल्लाघारीसम्म पुगिनेछ । करिडोरको निर्माण तीन प्याकेजमा भइरहेको छ ।
उपत्यकाको सबैभन्दा बढी सजारी चाप हुने चोकमा थापाथली, नयाँबानेश्वर, कोटेश्वर, जडीबुटीलगायत छन् । करिडोर सञ्चालनमा आउँदा यी चोकका जाम कम हुन थालेका छन् भने पूर्णरुपमा सञ्चालनमा आउँदा त्यो अझै कम हुनेछ ।