०१ असार २०८३, सोमबार

कोरोनाले अस्तव्यस्त अन्तर्राष्ट्रिय खेलकुद, कुन–कुन खेल भए रद्द ?

चैत १, २०७६
कोरोनाले अस्तव्यस्त अन्तर्राष्ट्रिय खेलकुद,  कुन–कुन खेल भए रद्द ?

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद अस्तव्यस्त बनेका छन् । खेलाडी, प्रशिक्षक र पदाधिकारीमै कोरोना संक्रमण देखिएपछि प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भएका छन्, धेरै प्रतियोगिता रद्द नै भएका छन् । धेरै खेलाडी र पदाधिकारी ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । 

युरोपियन फुटबल महासंघ (युइएफए)ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरू अहिलेलाई स्थगित गरेको छ । आगामी २० मार्चका लागि तय गरिएको च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टरफाइनल चरणको ‘ड्र’ पनि स्थगित गरिएको छ । युरोपियन युथ च्याम्पियनसिपका खेल पनि रोकिएका छन् । 

इंग्ल्यान्डको फुटबल संघ (एफए)ले इंग्लिस प्रिमियर लिगका खेलहरू आगामी ३ अप्रिलसम्मका लागि स्थगित गरेको छ । स्पेनमा पनि आगामी दुई चरणका खेल रोकिने भएका छन् । इटालीमा यसअघि नै घरेलु लिग रोकिइसकेका छन् । 

नेदरल्यान्ड्स, पोर्चुगल र अमेरिकाका फुटबल प्रतियोगिताहरू स्थगित भइसकेका छन् । स्कटल्यान्ड, आयरल्यान्ड र वेल्सले पनि तत्कालका लागि व्यावसायिक खेल स्थगित गर्ने निर्णय गरेका छन् । इटालियन सिरी ए टोली युभेन्टसका रक्षक ड्यानियल रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही कारण टोलीका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसहित युभेन्टसका १२१ जना सेल्फ आइसोलेसनमा बसेका छन् । 

आफ्नी आमा बिरामी भएपछि पोर्चुगल फर्किएका रोनाल्डो पनि घरमै आइसोलेसनमा बसिरहेका छन् । इंग्लिस टोली आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार बिहान मात्रै चेल्सीका स्ट्राइकर कालुम हड्सन ओडोईलाई पनि कोरोना संक्रमण देखिएको छ । एभर्टनले पनि आफ्ना खेलाडीमा कोरोना संक्रमणको संकेत देखिएको जनाएको छ ।

यी टोलीका खेलाडी र स्टाफ पनि सेल्फ आइसोलेसनमा बसेका छन् । स्पेनमा रियल म्याड्रिडका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । रियलका बास्केटबल खेलाडीमा संक्रमण देखिएपछि एउटै मैदान र सुविधा प्रयोग गर्ने आफ्ना फुटबल खेलाडीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा क्वारेन्टाइनमा राखिएको हो । सोही कारण रियल र म्यानचेस्टर सिटीबीच मंगलबार हुनुपर्ने च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टरफाइनल चरणको दोस्रो लेगको खेल स्थगित भएको छ । 

इटालीमा साम्पडोरियाका स्ट्राइकर मानोलो गाब्बियादिनीमा संक्रमण देखिएको छ । आफ्नो परिवारका एक सदस्यलाई संक्रमण देखिएका कारण इंग्लिस टोली म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्दी पनि सेल्फ आइसोलेसनमा बसेका छन् । इंग्ल्यान्डले यसै साताका लागि तय भएको श्रीलंकासँगको टेस्ट शृंखला रद्द गरेको छ । यो अवस्थाले केही समय खेलकुद गतिविधि ठप्प हुने देखिएको छ । 

संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा दर्शक र धेरै संख्यामा खेलाडीकै उपस्थिति आवश्यक हुने खेलकुद प्रतियोगिता सञ्चालन गर्न असम्भवजस्तै देखिएको छ । स्थगित भएका प्रायः प्रतियोगिता पुनः सुरु गर्न आयोजकले भाइरस संक्रमणको अवस्थाको मूल्यांकन गर्ने जनाएका छन् । 

खेलाडी र प्रशिक्षकमै संक्रमण पुष्टि, प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित र रद्द

तत्कालका लागि रोकिएका र रद्द भएका प्रतियोगिता 

१३ मार्च

फुटबल : इंग्लिस प्रिमियर लिगसहित इंग्लान्डमा हुने सबै फुटबल प्रतियोगिता आगामी ३ अप्रिलसम्मलाई स्थगित ।

फुटबल : स्कटल्यान्ड र वेल्सका सबै व्यावसायिक फुटबल प्रतियोगिता स्थगित ।

फुर्मुला वान : बहराइन र भियतनाममा यही मार्चको अन्तिम र अप्रिलमा हुने ग्रान्ड प्रिक्स रद्द । 

साइक्लिङ : यही साताका लागि तय भएको ६ दिनको म्यानचेस्टर रेस स्थगित ।

क्रिकेट : इंग्ल्यान्ड र श्रीलंकाबीचको टेस्ट शृंखला स्थगित ।

आइस हक्की : इलाइट लिगका सम्पूर्ण खेल रद्द ।

स्क्वास : पिएसए टुर अप्रिल अन्तिमसम्मका लागि स्थगित ।

गल्फ : फ्लोरिडाको प्लेयर च्याम्पियनसिप रद्द, पिजिए टुर २ अप्रिलसम्मका लागि स्थगित ।

रग्बी युनियन : अर्काे सूचना नआएसम्मका लागि फ्रान्सका सम्पूर्ण खेल स्थगित ।

मोटर स्पोर्टस् : फर्मुला ईका सबै खेल दुई महिनासम्म स्थगित । पेरिस, सियोल र जकार्तामा हुने प्रतिस्पर्धा प्रभावित ।

फुटबल : युरोपियन फुटबल संघद्वारा १७ र १८ मार्चका लागि निर्धारित आफ्ना सम्पूर्ण प्रतिस्पर्धा स्थगित ।

फुटबल : फ्रेन्च लिग वानद्वारा लिग वान र लिग टुका सबै खेल स्थगित ।

१२ मार्च

फर्मुला वान : यो साता हुने भनिएको सिजनको पहिलो प्रतिस्पर्धा अस्ट्रेलियन ग्रान्ड प्रिक्स रद्द । 

फुटबल : म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगको खेल स्थगित ।

फुटबल : स्पेनिस फुटबल संघद्वारा लालिगाअन्तर्गत कम्तीमा दुई चरणका खेल स्थगित ।

बास्केटबल : बास्केटबलका सबै खेल अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित ।

टेनिस : एटिपीद्वारा आगामी ६ साताका लागि सबै खेल स्थगित ।

रग्बी युनियन : प्रो १४ प्रतिस्पर्धा स्थगित ।

टेनिस : २३ मार्चबाट सुरु हुने मियामी ओपन रद्द ।

फुटबल : डेनिस फुटबल संघद्वारा दुई साताका लागि फुटबलका सबै गतिविधि स्थगित । 

बास्केटबल : अन्तर्राष्ट्रिय बास्केटबल महासंघद्वारा १३ मार्चदेखि सम्पूर्ण प्रतिस्पर्धा रद्द, युरोपियन बास्केटबल च्याम्पियनसिप पनि स्थगित ।

आइस हक्की : बेलायत र पोल्यान्डबीच १७ र १८ अप्रिलका लागि तय खेल स्थगित ।

डार्टस् : २५ र २६ मार्चमा हुने तय भएको प्रिमियर लिग डबल हेडर प्रतिस्पर्धा रद्द ।

फुटबल : ब्राजिल, अर्जेन्टिना, र उरुग्वेबीच २३ देखि ३१ मार्चसम्मका लागि तय भएको विश्वकप छनोट स्थगित ।

टेनिस : २० अप्रिलसम्म विश्वभर कतै पनि टेनिसका प्रतिस्पर्धा नहुने ।

११ मार्च

फुटबल : पेरिस सेन्ट जर्मन (पिएजी) र लियोनबीचको फ्रेन्च लिग फाइनल खेल स्थगित ।

जिम्न्यास्टिक : अन्तर्राष्ट्रिय जिम्न्यास्टिक महासंघद्वारा जुनसम्मका लागि विश्वकपका सबै प्रतिस्पर्धा स्थगित

फुटबल : १८ अप्रिलका लागि तय एथलेटिक बिलबाओ र रियल सोसिडाडबीचको खेल स्थगित ।

खेलकुद : अर्जेन्टिनाद्वारा मार्चसम्मका लागि आफ्नो देशमा तय भएका सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द । 

तेक्वान्दो : जाग्रेबमा ७ देखि १० अप्रिलसम्मका लागि तय भएको सिनियर युरोपियन च्याम्पियनसिप स्थगित । 

फुटबल : कतारमा २६–३० मार्चमा बेल्जियम, पोर्चुगल र क्रोएसिया र स्विट्जरल्यान्डको सहभागितामा हुने तय भएको प्रतियोगिता स्थगित ।

१० मार्च

फुटबल : जापानको जे लिगअन्तर्गतका सबै खेल आगामी ३ अप्रिलसम्मका लागि स्थगित ।

रोविङ : विश्व रोविङ कप, युरोपियन ओलम्पिक र प्यारालिम्पिक्सअन्तर्गतका खेल स्थगित ।

टेबल–टेनिस : अन्तर्राष्ट्रिय टेबल–टेनिस महासंघद्वारा अप्रिलमा हुने जापान ओपन प्रतिस्पर्धा स्थगित ।

९ मार्च

खेलकुद : इटालीमा कुनै पनि स्तरको कुनै पनि प्रतियोगिता ३ अप्रिलसम्मका लागि स्थगित ।

बेसबल : सिजनको सुरुवातमा ढिलाइ, २० मार्चबाट जापानमा हुने प्रतियोगिता स्थगित ।

फुटबल : सन् २०२२ मा हुने कतार विश्वकपका एसियन छनोट प्रतियोगिता स्थगित ।

जुडो : अन्तर्राष्ट्रिय जुडो महासंघद्वारा वर्ल्ड टुरअन्तर्गतका सबै प्रतिस्पर्धा अप्रिलको अन्तिमसम्मका लागि स्थगित ।

८ मार्च

फुटबल : युरोपियन फुटबल महासंघद्वारा प्रतियोगितामा खेलाडीलाई कसैसँग पनि हात मिलाउन प्रतिबन्ध ।

७ मार्च 

एथलेटिक्स : बार्सिलोना म्याराथन २५ अक्टोबरसम्मका लागि स्थगित । 

आइस हक्की : वुमन वर्ल्ड च्याम्पियनसिप रद्द ।

६ मार्च

स्किइङ : अल्पाइन स्किइङ विश्व च्याम्पियनसिप रद्द ।

जिम्न्यास्टिक : कतारमा हुने तय भएको जिम्न्यास्टिक विश्वकपअन्तर्गतका खेल विनादर्शक खेलाइने ।

४ मार्च 

ओलम्पिक : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकद्वारा सन् २०२० को टोकियो ओलम्पिक स्थगित नहुने अभिव्यक्ति ।

ब्याडमिन्टन : २१–२६ मा चीनमा हुने तय भएको एसियन च्याम्पियनसिप फिलिपिन्समा सारियो ।

(एजेन्सीको सहयोगमा)

salt training

कमेन्ट गर्नुहोस्