
पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफूमातहत रहेका विभिन्न स्थानका टिकट काउन्टरमा यात्रुको तापक्रम मापन गरेर मात्र टिकट काट्ने भएको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनी सरकारले विभिन्न सतर्कता अपनाइरहँदा सार्वजनिक यातायातलाई सुरक्षित बनाउँदै संक्रमित व्यक्तिको पहिचान गर्न समेत सहयोग होस् भनी तापक्रम मापन गर्ने व्यवस्था गरिएको प्रालिले जनाएको छ ।
प्रालिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूमातहत सेवा सञ्चालनमा रहेका सडक खण्डहरूमा टिकट बूकिङ काउन्टरहरू बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरूको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोना भाइरसको संक्रमणको त्रासका कारण सरकारले बढी भीडभाड हुने कार्यक्रम नगर्न र भीडभाडमा नजान आग्रह गरिरहँदा यसको प्रभाव यातायात क्षेत्रमा समेत पर्ने भएकाले यात्रुहरूको सुरक्षाका लागि तापक्रम मापन गरेर मात्र टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिए ।
अध्यक्ष खरेलले सबै काउन्टरमा उपकरण ल्याइएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरी उनिहरूको अवस्था जानकारी गराउने व्यवस्था गरिएको जानकारी दिए ।
एकजना संक्रमितबाट सवारी साधनमा रहेका अन्य यात्रुहरूको समेत स्वास्थ्य जोखिममा रहने भएकाले आफूहरूले सतर्कता अपनाएको उनको भनाइ थियो ।