
रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालमा सोमवार तनाव उत्पन्न भएको छ ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टरबीच विवाद हुँदा मेडिकल कलेजका डाक्टरमाथि हातपात भएको हो ।
नवलपरासीको बर्दघाट–२ की यमकुमारी पुनको उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
शुक्रवार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेम थापाले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।
‘डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको खबरपछि हामी पुग्यो । अहिले स्थिति नियन्त्रणमा छ । मृतक बिरामीको शव आफन्तले लगिसके,’ उनले भने ।
मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेन्ट (जेआर) डा. अर्चन घिमिरेलाई हातपात गरेका थिए । हातपातपछि डा. घिमिरे सामान्य घाइते भएका छन् । कुटाइ खाएपछि डाक्टरको टीमले पनि बिरामीका आफन्तमाथि कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका आफन्त कर्णबहादुर गुरुङले बताए ।
उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाडौं जानका लागि रिफर माग्दा अस्पतालले रिफर नदिई लापरबाही गरेर दिदीलाई मारेको आरोप लगाए । उनले दिदीको उपचार भइरहेको र सञ्चो हुने भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए ।
अस्पताल प्रशासनले भने डाक्टरको लापरबाहीले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाहा पाएपछि आफन्तले केही समय आन्दोलन गरेका थिए ।
पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ । उपचारमा संलग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि सुरक्षा र कारवाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।
डाक्टर आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपीडी सेवा पूर्ण रुपमा ठप्प भएको छ । ओपीडीमा टिकट लिएर बसेका बिरामीहरू डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन् ।
मेडिकल कलेजमा कार्यरत विशेषज्ञ डाक्टर, जुनियर रेजिडेड डाक्टर तथा विद्यार्थी मेडिकल कलेजका ३ वटा ठूला गाडीमा जम्मा भएर जिल्ला प्रशासन कार्यालय आएका छन् । डाक्टर कुट्ने मृतकका आफन्तलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउन गएको अस्पतालले जनाएको छ । प्रशासन पुगेका डाक्टर तथा विद्यार्थीले अहिले प्रशासन अगाडि नाराबाजी समेत गरेका छन् ।