चितवन, ७ वैशाख– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ ।
सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन एसोसिएसन विथ एफविसी नेपालले परामर्श दाताको रुपमा सो सडक हेर्दै आएको छ । निर्माण कम्पनीले परामर्शदातामार्फत आयोजनामा प्रस्ताव राख्ने गर्दछन् ।
यो प्रस्तावलाई परामर्श दाता कम्पनीले थप समस्या हुनसक्ने भएकाले विस्फोटभन्दा अन्य विकल्प खोजी गर्न सुझाएको हो । पत्रमा विस्फोट गर्नै पर्ने थप कारण खुलाउन भनिए पनि आशय भने अन्य प्रविधिको प्रयोग गरेर काट्नुको विकल्प नरहेको जनाएको छ । परामर्श दाता कम्पनीका टिम लिडर विएन सिंहलेसवारीको चाप धेरै भएको ठाउँमा विस्फोट गर्नु उपयुक्त नहुने बताए ।
विस्फोट गर्दा सिङ्गो पहाड खसेर ठूलो समस्या हुनसक्ने भन्दै उनले दीर्घकालीन रुपमा पनि लामो समयसम्म पहिरो खसिरहन सक्ने बताए । भविश्यमा पनि दुःख पाउन सकिने हँुदा नयाँ प्रविधिको प्रयोग गरेर भए पनि भित्तो काट्नुनै उपयुक्त हुने उनको सुझाव छ ।
विस्फोट गर्दा पहाडको अन्य भाग पनि चर्किने र पछिसम्म पहिरो खसिरहने समस्या अन्य सडकमा पनि रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । सुरुको सम्झौतामा विस्फोटका कुरा उल्लेख नभएपछि निर्माण कम्पनीले परामर्श दाता कम्पनीसँग सो आग्रह गरेको उनले बताए ।
सो सडकखण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किलोमिटरदेखि १०० मिटर लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको थियो ।
सो क्षेत्रको निर्माण गर्दै आएको सुप्रिम रौताहा जेभिले आयोजनाको परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको थियो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएको क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड रहेको छ । त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर रहेको छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मिटर चौडा मात्रै रहेको छ । जहाँ नौ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ ।
राष्ट्रिय महत्व बोकेको सो सडकखण्ड विस्तारमा निर्माण कम्पनीले लक्ष्यअनुरुप काम गर्न नसक्दा तोकिएको समयमा काम नसकिने निश्चित भएको छ । सुरुको सम्झौताअनुसार यतिबेला काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।
भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै दुई पटक समय थप गरी आउँदो पुससम्ममा काम सम्पन्न गर्न समय दिइएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन ।
दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किलोमिटरमा ३०० मिटर र घुमाउनेमा २०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ । करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशतमात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए ।
त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिन्सम्मको जलविरेमा २०० मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँठाउँमा गरी ५०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । खनालका अनुसार जलविरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म १० प्रतिशत मात्र काम भएको छ ।
कालीखोलादेखि मुग्लिनसम्मको भागमा ५ दशमलव ५ मिटर मात्र सडक फराकिलो छ । जसलाई नौ मिटर फराकिलो पु¥याउनु पर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ ।