
पोखराको लेकसाइडस्थित दरबार इन होटल अहिले सुनसान छ । लेकसाइडको दरबारमार्ग स्ट्रिट नम्बर ९ मा रहेको दरबार होटल सञ्चालनको ५ वर्ष पुग्यो । ३ दाजुभाइ भुवन, आकाश र पृथ्वी लामिछाने मिलेर सञ्चालन गरेको होटलमा कूल ८ करोड रुपैयाँ लगानी परेको छ ।
लगानी उठाउनै धौधौ परेको बेला यतिखेर होटलका ३३ वटा रुममध्ये मात्र २–३ वटामा मात्र ‘गेस्ट’ छन् ।
रिसेप्सनिस्ट जनु रानालाई पनि पहिलेजस्तो गेस्टसँग फेस गर्नुगरेको छैन । फुर्सदिली छन् । बिहान आयो, दिनभर गेस्टको आउँछन् भनी कुर्यो, साँझ फर्कियो । जनुका अनुसार २ महिनायता गेस्ट घट्दै गएकोमा केही सातायता भने स्वात्तै घटेको छ । पहिले गरिएका बुकिङ समेत धमाधम क्यान्सिल गरिएको छ ।
दरबार इनका सञ्चालक मध्येका एक पृथ्वी लामिछानेले भने, ‘भूकम्पपछि खस्किएको पर्यटन व्यवसाय फेरि थला पर्यो । पोखरा घुम्नेहरूले धमाधम बुकिङ रद्द गरेपछि गेस्ट पाउनै मुस्किल छ । भोलिदेखि त गेस्ट नै छैनन् । रित्तै हुने भो ।’
उनका अनुसार मार्चसहित अप्रिलसम्मको बुकिङ समेत रद्द भइसकेको हो । यहाँ कार्यरत ७ जना कर्मचारीलाई कम्तीमा १५ दिनसम्म बिदा दिइ घर पठाउने बाध्यतामा आफूहरू रहेको गुनासो उनको छ ।
लेकसाइडकै बाराहीमार्गस्थित द यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट पनि यतिखेर सुनसान छ । पर्यटकको चहलपहल हुने होटलमा केही सातायता गेस्ट अभावमा ४६ वटै रुम खाली छन् । होटलका महाप्रबन्धक अरुण गिरीले कार्यरत ५५ जना कर्मचारीमध्ये क्लीनर केही र रिसेप्सनमा केही बाँकी राखेर १ महिनाको लागि बिदा दिने योजनामा रहेको सुनाए । उनी भन्छन्, ‘तत्कालका लागि १ महिनासम्म तलब नदिने बेतलबी बिदा दिनेछौं । पछि अवस्था कस्तो हुन्छ, सोही अनुसार अर्को निर्णय गर्नुपर्नेछ ।’
विश्वभर आक्रामक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले कारण पर्यटकीय नगरी पोखरा प्रभावित बन्दा दरबार इन र द यात्राजस्तै पोखराका सबैजसो होटलको दुर्दशा त्यस्तै छ । यहाँका पाँचतारे, तीनतारे होटलमा पनि तेस्रो मुुलुकका पर्यटक मुस्किलले भेटिन्छन् ।
कोरोनाकै कारण हवाइ उडान छेकिँदा विदेशी पर्यटक पोखरा आउन नसकेका हुन् । पर्यटन व्यवसाय यतिखेर नराम्ररी खस्किएको र बैंकको ऋण समेत समयमै बुझाउन नसक्ने अवस्था आएको पर्यटन व्यवसायीको गुनासो छ ।
द यात्राका सञ्चालक रामचन्द्र भट्टराईले सरकारले पर्यटन व्यवसायीको हितमा हुने गरी समयावधि थप गर्नुपर्नेमा जोड दिन्छन् । दरबार इनका सञ्चालक पृथ्वी लामिछानेले अब पर्यटन व्यवसाय रिकभर हुन समय लाग्ने हुँदा बैंकहरूलाई ब्याजदर घटाउन लगाउन सरकारले ध्यानाकर्षण गर्नुपर्ने बताउँछन् ।

पर्यटक आगमनको दर घटेसँगै पोखराका सानादेखि तारेहोटलमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । यहाँको पर्यटन क्षेत्रमा समग्र ४ खर्बको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले बताए ।
होटलको अकुपेन्सी दर समेत घटेको छ । विगतका वर्षमा यो समयमा ६० प्रतिशत अकुपेन्सी हुने गरेकोमा एक्कासी सो दर घटेर मात्र १० प्रतिशत आएको छ । पर्यटन व्यवसायी यतिखेर सो अवस्थाबाट गुज्रिएसँगै कोही पर्ख र हेरको अवस्थामा छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका पर्यटन व्यवसाय बन्द भएका छन् ।
व्यवसायीका अनुसार यतिखेर बुकिङ रहेका ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ । टूर अपरेटरले बुकिङ लिन छाडेका छन् । यो संकट अवस्थाबाट कहिलेसम्म पर्यटन व्यवसायी गुज्रिने हुन् यसै भन्न सक्ने अवस्थामा कोही छैनन् ।

होटल संघका अनुसार पोखरामा पर्यटकीयस्तरका ४०० वटा होटल छन् । यहाँ ३० हजार बेड छन् । साथै होटल व्यवसायमा करीब १७ हजार जनासम्म कर्मचारी रोजगाररत रहेकोमा उनीहरूको भविष्य समेत संकटमा परेको छ ।
२०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पभन्दा पनि पृथक समस्या हो । समय–समयमा प्राकृतिक विपत्ति समेत सामना गर्दै आएका पर्यटन व्यवसायीले यतिखेर बैंकिङ ऋण पुनःसरचना गरिदिन सरकारसँग आग्रह गर्दै पर्यटनसम्बद्ध संघसंस्थाका पदाधिकारी राजधानी काठमाडौं पुगेका छन् । उनीहरूले केही दिनअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई लगायतलाई भेटेर गुनासो पोखेका थिए ।