
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
सरकार गठनको २ वर्ष बढी समयपछि बुधवार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार सामाजिक विकास मन्त्री नरदेवी पुनले भने अझै सम्पत्ति विवरण आइसकेको छैन ।
सार्वजनिकमध्ये सबैभन्दा बढी नगद तथा सुन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाममा रहेको छ । जग्गा भने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको नाममा बढी रहेको छ ।
सबैभन्दा कम सम्पत्ति आन्तरिक मामिला तथा कानूनी मन्त्री हरिबहादुर चुमानको नाममा देखिन्छ । चुमान तत्कालीन माओवादी कोटाबाट मन्त्री बनेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाममा लमजुङको क्व्होलासोथार गाउँपालिकामा ३७ रोपनी जग्गा छ । उनकी पत्नी कुमारीमुनी गुरुङको नाममा २०४५ सालमा ४५ हजारमा किनेको क्व्होलासोथारमा रहेको १ घरसहितको जग्गा छ भने बहिनी आशकुमारीको नाममा अंशवण्डाबाट प्राप्त क्व्होलासोथारमा रहेको एकतले २ घर, २९ रोपनी १४ आना जग्गा रहेको छ ।
मुख्यमन्त्री गुरुङले विभिन्न मितिमा ५१ तोला सुन र ९० तोला चाँदी खरिद गरेका छन् । उनको नाममा एभरेस्ट बैंकमा १५ लाख ५० हजार, सिभिल बैंकमा १ लाख नगद छ । सो रकम उनले तलबभत्तावापत प्राप्त भनेका छन् ।
उनको छोरा विज्ञानको नाममा लक्ष्मी बैंकमा १० लाख, नविल बैंकमा ६० लाख, श्रीमतीको नाममा सिभिल बंैकमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा सहकारीमा ५ लाख, राष्ट्रिय वाणिज्य बैंक, जावलखेलमा २ लाख रहेको छ । सो रकम मुख्यमन्त्रीले आफ्नो तलब, भत्ता, पेन्सनबापत रहेको दाबी गरेका छन् ।
शेयरतर्फ छोराको नाममा पिपुल्स जलविद्युत्मा १५ हजार कित्ता छ । साथमा १ स्कुटर, १ मोटरसाइकल, ९ भेंडा र ७ बाख्रा सम्पत्तिको नाममा छन् । उनको ऋण भने छैन ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको नाममा पोखरा १२, कुँडहरमा २२५ वर्ग मिटरको जग्गा, फलेबास पर्वमा ६ आनाको घडेरी, ललितपुरको धापासीमा ६ आना जग्गा, आमा बालकुमारीको नाममा तनहुँ भीमादमा ११ रोपनी जग्गासहित घर, स्व. बुवा तुलारामको नाममा भीमादमा विभिन्न कित्ताका गरी ९० रोपनी जग्गा छ ।
तनहुँ भीमाद घर भएका मन्त्री गुरुङको बुबाको नाममा रहेको पैतृक सम्पत्तिबाहेक अन्य जग्गा उनले सापटी, माइती पक्षबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।
गरगहनातर्पm ४ तोला सुन, पत्नी कृष्णकुमारीको १५ तोला, मन्त्रीको आफ्नै नाममा नबिल बैंक र एभरेस्ट बैंकमा खाता रहेको भएपनि सम्पत्ति विवरणमा रकम खुलाएका छैनन् । तनहुँका २ वटा सहकारीमा ३५ हजार, पत्नीको नाममा सेल्फी इन्भेस्टमेन्ट प्रालिमा ५ हजार कित्ता, गण्डकी प्रोपर्टी प्रालिमा १ लाख कित्ता, पोखरा रोयल सहकारी संस्थामा लिमिटेडमा १ हजार कित्ता, रोयल दिदीबहिनी किचनमा २ लाख ७५ हजार नगद लगानी, क्लीन कन्सर्न पोखरामा २ लाख, आफ्ना २ छोराको नाममा सेल्फी इन्भेस्टमेन्टमा ५/५ हजार गरी १० हजार कित्ता रहेको जनाएका छन् ।
आन्तरिक मामिला तथा कानूनी मन्त्री हरिबहादुर चुमानको नाममा तनहुँको आबुखैरेनीमा ५ रोपनी १३ आना जग्गा छ । तनहुँकै आबुखैरेनी–२, ढकालथर ठेगाना भएका मन्त्री चुमानको अन्य मन्त्रीको तुलनामा कम सम्पत्ति विवरण उल्लेख छ । उनकी पत्नी धनकुमारीको नाममा आवुखैरेनी ५ मा २ रोपनी १ आना जग्गा सहितको घर रहेको छ । सो सम्पत्ति उनले अंशबण्डाबाट पाएको भनेका छन् । आवुखैरेनी ६ मा ८ आना र वडा ५ मा ४ रोपनी ६ आना जग्गा छ ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरको सम्पत्ति विवरण बुझाएका छन् ।