१३ असार २०८३, शनिबार

ग्यास आपूर्ति अझै असहज, विवरण राखेर मात्र बिक्री गरिंदै

चैत ९, २०७६
ग्यास आपूर्ति अझै असहज, विवरण राखेर मात्र बिक्री गरिंदै

मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न शुरू गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।

सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्यास नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो । उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्यास मौज्दात राखेको र एउटैले ५०औँ सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्यास नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

भारतबाट जति ग्यास आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्यास लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो । अध्यक्ष भण्डारीले भने, विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहो¥याएर ग्यास लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्यास पाउने छन् ।

सङ्घका अनुसार बिक्रेताले बिक्री गरेको ग्यासको सङ्ख्या, मौज्दात सङ्ख्या, उपभोक्ताको नाम ठेगाना, सम्पर्क नम्बर र उनीहरूले कतिपटक ग्यास खरिद गरे भन्नेसम्मको विवरण सम्बन्धित उद्योगलाई दैनिक रूपमा लिखित जानकारी गराउनुपर्ने छ । जसले गर्दा आपूर्तिलाई सहज बनाउने भण्डारीको दाबी छ ।

सङ्घका अनुसार गएको २० दिनमा ३२ हजार मेट्रिक टन ग्यास बजारमा पठाइएको छ । जब कि नेपालमा मासिक ४० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । सामान्य अवस्थामा दैनिक १३ सय मेट्रिक टन खपत हुन्छ भने अहिले दैनिक १६ सय मेट्रिक टन खपत भइरहेको छ ।

कोरोना भाइरसको त्रासले अभाव हुने आशङ्कामा उपभोक्ताले अनावश्यक ग्यास सिलिन्डर मौज्दात राखेपछि बजारमा अभाव हुन पुगेको सङ्घले जनाएको छ । भण्डारीले भन्नुभयो, एउटै परिवारले धैरै ग्यास लैजाने तर अरूले नपाउने अवस्थाको अन्त्य गर्ने र बिक्रेताले पनि समानुपातिक हिसाबले वितरण गरेको छ छैन भन्ने कुराको जानकारीका लागि तथ्याङ्क माग गरेका हौँ । यसले दीर्घकालीन रूपमा ग्यास वितरणमा सहजता हुने उनको दाबी छ ।

ग्यास वितरणमा दीर्घकालीन संयन्त्र जरुरी रहेको अध्यक्ष भण्डरीको भनाइ छ, आपूर्तिमा दुईचार दिन असहज हुँदा ग्यास वितरणमा समस्या हुन्छ बजारमा अभाव भइहाल्छ, काठमाडौँको एउटा परिवारले कम्तीमा १५÷१६ वटा सिलिन्डर राख्ने हैसियत राख्छ तर सामान्य कोठा भाडामा बस्नेले राख्दैन, टाठाबाठाले सिलिन्डर भण्डारण गर्ने अरूले नपाउने अवस्थाको अन्त्य गर्न सरकारले बलियो संयन्त्र बनाउनुपर्छ ।

सङ्घले दुई वटाभन्दा बढी सिलिन्डर मौज्दात नराख्न अनुरोध गरेको छ । नयाँ सिलिन्डर बिक्रीमा रोक लगाइएको अवस्थामा वितरण प्रणालीमा असर हुने र सुरक्षाका हिसाबले पनि असुरक्षित भइने हुनाले ग्यास सिलिन्डर अनावश्यक मौज्दात नराख्न सङ्घले सूचना जारी गरेको छ । बढी मौज्दात राखियो भने ग्यास वितरण प्रणाली भर्ने, बजारमा पु¥याउने र बजारबाट खाली सिलिन्डर उद्योगमा लगेर भरेर फेरि बजारमा पठाउने प्रक्रिया (सिलिन्डिर साइकल)मा प्रभाव पर्ने बताइएको छ ।

उपभोक्ता संरक्षण ऐनमा कालोबजारी गर्ने वा अनावश्यक रूपमा भण्डारण गरी बजारमा अभाव सिर्जना गर्नेलाई कारबाही गरिने व्यवस्था रहेको भन्दै सङ्घले बढी मौज्दात नराख्न आग्रह गरेको छ तर उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिएकाले केही दिनमै ग्यासको खपत घट्ने दाबी गरिएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्