
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
सरकारको सोमवारदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतवार बसेको बैठकले सोमवारदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए।
'काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ', उनले भने । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिए।