०६ साउन २०८३, बुधबार

उत्तर कोरियालाई कोरोनाको छैन मतलब, क्षेप्यास्त्र परीक्षण जारी

चैत १०, २०७६
उत्तर कोरियालाई कोरोनाको छैन मतलब, क्षेप्यास्त्र परीक्षण जारी

अहिले संसारको ध्यान कोरोनाभाइरसमा हुँदा उत्तर कोरिया चाहिँ धमाधम क्षेप्यास्त्र विकास गरिरहेको छ र सैन्य अभ्यास पनि गरिरहेको छ । कोरोना संक्रमणले उत्तरको आत्मविश्वासलाई डगाउन सकेको देखिँदैन । 

आफ्नो देशमा कोरोनाभाइरसको एउटा पनि केस नरहेको भनी उत्तर कोरियाले गरेको दाबीलाई अन्तर्राष्ट्रिय विज्ञहरूले शंका गरेका छन् जबकि कोरोनाको पहिलो केस छिमेकी चीनमा देखिएको थियो । 

तर उत्तर कोरियाली सैनिकहरूले फेस मास्क नलगाइकनै सैन्य अभ्यास गरेको अनि छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरिरहेको सरकारी सञ्चारमाध्यममा आएका तस्वीरमा देखिएको छ । 

सावधानीका लागि क्वारेन्टाइनमा राखिएका सबै विदेशीलाई आफूले रिहा गरेको उत्तर कोरियाले जनाएको छ । विज्ञहरूलाई आश्चर्यमा पार्दै उसले अप्रिल महिनाको शुरूतिर सुप्रिम पिपुल्स एसेम्ब्लीको ठूलो भेला आयोजना गर्ने पनि जनाएको छ ।

‘उत्तर कोरियाले एसेम्ब्लीको वसन्त सत्र अघि बढाउने निर्णय लिएकोमा म अलिक आश्चर्यमा परेकी छु,’ दक्षिण कोरियामा रहेको एनके न्युज वेबसाइटका विश्लेषक रेचल मिनयूङ लीले बताइन् । 

‘उत्तर कोरियाको सत्ताले कोरोनाभाइरस परिस्थितिलाई व्यवस्थापन गर्न आत्मविश्वास देखाएको संकेत यसबाट पाइन्छ,’ उनले थपिन् । 

किम जोङ–उनले आफ्ना जनतालाई आफू आत्मविश्वासी रहेको र बलियो रहेको देखाउन चाहेको इन्टरनेसनल क्राइसिस ग्रूपकी वरिष्ठ सल्लाहकार डुयोन किमले बताइन् । ‘उत्तर कोरिया अविजित रहेको देखाउन उनले खोजेका हुन्,’ उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्