
इटलीमा कोरोनाभाइरसको संक्रमण घटेको र मृत्यु संख्या पनि कम भएको आँकडा सार्वजनिक भएसँगै देशभरि लकडाउन गराएको प्रभावकारी भएको देखिएको छ ।
इटली अझै पनि कोरोनाभाइरसका कारण सबभन्दा बढी क्षति पुगेको देश हो र त्यहाँ ५४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
तर शनिवार र आइतवार रातिको बीचमा मृत्यु र नयाँ संक्रमणको दर घटेकाले अब संक्रमण फैलिन कम भएको संकेत दिएको छ । पूरै देश लकडाउनमा राखिएको दुई हप्तापछि यो असर देखिएको हो ।
रोमका अधिकारीहरूले आइतवार ६५१ जनाको मृत्यु भएको बताए जुन आफैंमा ठूलो संख्या हो तर शनिवार ७९३ जनाको मृत्यु भएको तुलनामा यो अलि कम नै हो ।
अनि शनिवार र आइतवारको बीचमा भाइरसका ५५ सय ६० नयाँ केस आए जबकि शुक्रवार र शनिवार ६५ यि ५७ वटा केस पुष्टि भएका थिए ।
अहिलेसम्म इटलीमा भाइरस संक्रमण निकै बढिरहेको थियो र प्रत्येक तीन दिनमा संक्रमण र मृत्युको संख्या दोब्बर बनिरहेको थियो ।
यो पछिल्लो आँकडा अस्थायी उपाय हुन सक्छ तर यसले लकडाउन मेजरबाट संक्रमण घटेको प्रमाण चाहिँ दिएको छ ।
नयाँ संक्रमण घटेपछि स्वास्थ्यकर्मीहरूमाथिको दबाब कम भएको छ र चिकित्सकहरूलाई रोगीको थप राम्रो उपचार गर्न सहज बनाएको छ । अनि मृत्युदर घटाउन पनि यसले सहयोग गरेको छ ।