
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को अवज्ञा गरेको भन्दै प्रहरीले काठमाडौंको बालाजु माछापोखरीमा बाटोमा हिँडेकालाई कान समातेर उठबस गर्न लगाएको छ ।
लकडाउन अवज्ञा गर्दै हिँडेका युवालाई सडकमा खटिएका सुरक्षाकर्मीले शनिवार मध्यान्ह उठबस गराएको हो । ‘काम परेपनि बिहान बेलुका मात्र निस्कन आग्रह गर्ने गरेका छौं, अटेर गर्नेलाई उठबस गराएको हो’ सडक सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीले भने ।
नेपाल प्रहरीले लकडाउनको अवज्ञा गर्ने दर्जनौलाई हिजो काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बाटोमा निस्किएका व्यक्तिलाई सम्झाई बुझाई गर्ने गरिएको तर अटेर गर्नेलाई पक्राउसमेत गर्ने गरिएको जानकारी दिए ।
सरकारले कोरोना संक्रमण फैलिन नदिन चैत्र १८ गतेसम्म लकडाउन गरेर औषधी लगायत अत्यावश्यक सामान किन्न बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।